टीकाबहादुर बस्नेत
दाङ, माघ १७ । दाङमा हात्तीपाइले रोगको निवारणका लागि आगामी माघ २५ गतेदेखि फागुन २८ गतेसम्म अभियान सञ्चालन गर्न थालेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । शुक्रबार घोराहीमा आयोजित पत्रकार अन्तक्र्रियामा बोल्दै कार्यालय प्रमुख डा. सुनिता पौडेलले घरघरमा पुगेर हात्तीपाइलेको औषधि खुवाउने जानकारी दिनुभयो ।
हात्तीपाइले रोगको संक्रमण रहेका मुलुकका १३ जिल्लामध्ये दाङ पनि रहेको भन्दै कार्यालय प्रमुख डा. पौडेलले यसवर्ष अभियानलाई सतप्रतिशत सफल बनाउने तयारीमा रहेको जानकारी दिनुभयो । दाङमा तीन प्रतिशत हात्तीपाइलेका संक्रमित रहेको भन्दै कार्यालय प्रमुख डा. पौडेलले आगामी २ वर्षभित्र जिल्लालाई हात्तीपाइले रोगमुक्त बनाउने अभियानमा लागेको जानकारी दिनुभयो ।
नवौं चरणको औषधि सेवन कार्यक्रम सम्पन्न गरिसक्दा पनि यस कार्यमा आफूहरुले सफलता हात नपारेको भन्दै डा. पौडेलले यस वर्षको आम औषधि सेवन अभियानलाई सतप्रतिशत बनाउने गरी जिल्लाका स्थानीय तहहरुको सहयोगमा अभियानको थालनी गर्न लागेको जानकारी दिनुभयो ।
अन्तक्र्रिया कार्यक्रममा बोल्दै हात्तीपाइले रोगका फोकलपर्सन कमल चन्दले अभियानका रुपमा हात्तीपाइले रोगको औषधि खुवाउने जानकारी दिनुभयो । उहाँले घोराही उपमहानगरपालिकामा माघ २५ देखि फागुन १ गतेसम्म, तुलसीपुर उपमहानगरपालिकामा माघ २५ देखि माघ २७ गतेसम्म, लमही नगरपालिकामा माघ २५ देखि माघ २७ गतेसम्म, राप्ती गाउँपालिकामा माघ २५ देखि माघ २९ गतेसम्म, गढवा गाउँपालिकाले माघ २५ देखि फागुन ४ गतेसम्म, राजपुर गाउँपालिकाले माघ २५ देखि फागुन ५ गतेसम्म, शान्तिनगर गाउँपालिकाले माघ २५ देखि फागुन ५ गतेसम्म, दङ्गीशरण गाउँपालिकाले
माघ २५ देखि फागुन २८ गतेसम्म, बबई गाउँपालिकाले माघ २५ देखि फागुन १० गतेसम्म, वंगलाचुली गाउँपालिकाले माघ २५ देखि माघ २९ गतेसम्म हात्तीपाइलेको औषधि खुवाउने जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख डा. सुनिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारीले बोल्नुभएको थियो ।