अत्तरिया, माघ २८ गते । कैलालीको गेटा आ“खा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण सुरु गरेको छ । कैलाली, डडेल्धुरा र डोटीमा आ“खाका बिरामीको अवस्था, आ“खा रोग सङ्क्रमणलगायतका विषयमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण सुरु गरेको हो ।
अस्पतालका व्यवस्थापक रमेशचन्द्र भट्टका अनुसार प्रदेशका नौ वटै जिल्लाका १३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरिनेछ । आ“खा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा तीन वटा टोली गठन सर्वेक्षणको कार्य थालनी भइसकेको उहाँले जानकारी दिनुभयो ।
पचास वर्ष उमेरमाथिका जनसङ्ख्यालाई समेटेर अन्धोपन सर्वेक्षण गरिने उहाँको भनाइ छ । उहाँले नेपालमा कुल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समूहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समूहलाई लक्षित गरिएको बताउनुभयो ।
सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आ“खा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारणलगायतबारे सर्वेक्षण गरिनेछ । यस पटकको अन्धोपनको सर्वेक्षणमा चार हजार ६२० जनालाई समावेश गरिने लक्ष्य रहेको जनाइएको छ ।
गेटा आ“खा अस्पतालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिदोषबारे पनि सर्वेक्षण गरेको जनाएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा पा“च देखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई समावेश गरेर दृष्टिदोषबारे सर्वेक्षण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सन् १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो । त्यतिबेला सेती अञ्चलमा एक दशमलव दुई प्रतिशत र महाकाली अञ्चलमा शून्य दशमलव आठ प्रतिशत जनसङ्ख्यामा अन्धोपना देखापरेको र त्यसको मुख्य कारण मोतिविन्दु रहेको थियो भने दोस्रो कारण ट्रकोमा रहेको थियो ।