सरोज ढुङ्गेल
काठमाडौं, माघ २९ गते । विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको नोवेल कोरोना भाइरसको आधिकारिक नाम ‘कोभिड नाइन्टिन ’ राखेको छ । संगठनको केन्द्रीय कार्यालय जेनेभामा बसेको बैठकले कोरोना भाइरसको आधिकारिक नाम कोभिड नाइन्टिन राख्ने निर्णय गरेको हो ।
संगठनका अनुसार ‘को’ को अर्थ कोरोना, ‘भि’को अर्थ भाइरस र ‘डि’ को अर्थ रोग अथवा समग्रमा कोरोना भाइरस रोग हुनेछ । यस्तै संगठनले १८ महिनाभित्र कोभिड नाइन्टिन कोरोना भाइरस विरुद्धको खोप बनाउने पनि घोषणा गरेको छ ।
संगठनका महानिर्देशक टेड्रोस अधानोमले कोरोना भाइरस विरुद्ध यो नाम सुहाउँदो र सही हुने भन्दै रोग विरुद्धको कार्यमा लगानी गर्न आव्हान गर्नुभएको छ ।
उहाँले कोभिड नाइन्टिन कोरोना भाइरस विरुद्ध आक्रामक रुपमा अघि बढ्नुपर्ने बताउनुभयो । भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको समाचार आइरहँदा संगठनले भाइरसको आधिकारिक नामाकरण गरेको हो