logo
२०८१ मंसिर ८ शनिवार



चीनबाट फर्केका १७५ जनामा संक्रमणको पुष्टि भएन

स्वास्थ्य |
राष्ट्रिय |


चीनबाट फर्केका १७५ जनामा संक्रमणको पुष्टि भएन


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुवेइ प्रान्तबाट नेपाल ल्याइएका १७५ जनामध्ये कसैमा कोरोना भाइरसको संक्रमण फेला नपरेको प्रष्ट्याइएको छ । मन्त्रालयले वुहानबाट फर्किएकाहरुमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न आईतबार घाँटीको ‘स्वाब’को नमूना लिएको थियो ।
मन्त्रालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नमूना लिइएको सबैको स्वास्थ्य परीक्षण प्रतिवेदनमा कोरोना भाइरसको संक्रमण नकारात्मक देखिएको जनाएको छ । वुहानबाट फर्किएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणको प्रतिवेदन बमोजिम वुहानबाट आइतबार बिहान फर्किएकामध्ये कसैकोमा संक्रमणको पुष्टि नभएको खुलाउनुभयो ।
नेपाल सरकारले चीनको हुवेइ प्रान्तस्थित विभिन्न ११ शहरमा अध्ययन तथा अन्य कार्य गरी बसोबास गर्ने नेपालीलाई नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान काठमाडौं ल्याएको थियो । चीनबाट नेपाल फर्किएकाहरुमा १३५ जना पुरुष, ४० जना महिला हुनुहुन्छ । प्रवक्ता श्रेष्ठले संक्रमणको पुष्टि नभएपनि फागुन १९ गते पुनः परीक्षण गरी सबैलाई डिस्चार्ज गरिने प्रष्ट्याउनुभयो । प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको संक्रमणको आशंकामा नेपालमा हालसम्म २१० जनाको स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । “एकजनामा पोजिटिभ देखियो, बाँकी सबै निगेटिभ आयो”, बताउनुहुँदै उहाँले पोजिटिभ देखिएकाको समेत स्वास्थ्य सुधार भई डिस्चार्ज भइसकेको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?