logo
२०८१ असोज ५ शनिवार



मृतकको संख्या पाँच हजार नाघ्यो,भारतको नौ राज्यमा शैक्षिक संस्था बन्द

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


मृतकको संख्या पाँच हजार नाघ्यो,भारतको नौ राज्यमा शैक्षिक संस्था बन्द
तस्विर-बीबीसी, विश्व स्वास्थ्य संगठनले शुक्रबार पत्रकार सम्मेलन गरेर कोरोना भाइरसको संक्रमणबारे जानकारी गराउँदै।


एजेन्सी
काठमाडौं, फागुन ३० गते । भारतमा बढदो कोरोना भाइरसको संक्रमणले नौ राज्यमा शैक्षिक संस्थान एवम् सार्वजनिक कार्यक्रम बन्द गरिएको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८१ पुगेको छ । एकजनाको मृत्यु भएको छ ।
भारतको हरियाणा, जम्मु, मध्य प्रदेश, श्रीनगर, केरल, कर्नाटका, उत्तर प्रदेश, दिल्ली, बिहार राज्यमा विद्यालय, विश्वविद्यालय तथा सिनेमा हल बन्द गर्ने निर्णय राज्य सरकारले लिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार संक्रमणको पुष्टि भएको यी राज्यमा ३१ मार्चसम्मका लागि पठनपाठन बन्द गरिएको छ ।
अमेरिकामा ४१ जनाको मृत्यु
अमेरिकामा संक्रमितको संख्या एक हजार सात सय पुगेको छ । अमेरिकाको राज्य र स्थानीय स्वास्थ्य संस्थाहरुका अनुसार कम्तिमा एक हजार ६९६ जनामा संक्रमणको पुष्टि भएको जनाएको छ । अमेरिकाको ४८ वटा राज्यमा संक्रमणको पुष्टि भएको सीएनएनले उल्लेख गरेको छ । संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ । इडाहो र पश्चिम भर्जिनियामा मात्रै संक्रमण फेला नपरेको सीएनएनले जनाएको छ ।
यूरोप नयाँ उद्गमस्थल
विश्व स्वास्थ्य संगठनले यूरोप कोरोना भाइरसको उद्गमस्थल बन्न पुगेको जनाएको छ । शुक्रबार विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदनम गेब्रेससले विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ३२ हजार पुगेको बताउनुभएको छ । उहाँले कोरोना भाइरसको संक्रमणले अहिलेसम्म पाँच हजार जनाको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनले व्यक्तिगत् सुरक्षा सामग्रि थप २८ राष्ट्रमा पुर्याउन लागेको जनाएको छ । यसअघि संगठनले विश्वका ५६ राष्ट्रमा सामग्रि पठाएको थियो । स्वास्थ्य संगठनका महानिर्देशक ग्रेबेससले १२० देशमा करिब १५ लाख ‘डायग्नस्टिक टेष्ट’ पठाइएको खुलाउनुभयो ।
स्पैनमा आपातकाल घोषणा
स्पैनमा कोरोना भाइरसको संक्रमणले १२० जनाको मृत्यु भएको छ । चार हजार भन्दा बढी जनामा संक्रमणको पुष्टि भएपछि स्पैनले आपातकालको घोषणा गरेको छ । विश्वका करिब ६२ राष्ट्रले स्पैनमा विमान अवतरणमा प्रतिबन्ध लगाएको छ ।
स्पैनका प्रधानमन्त्री पेड्रो साञ्चेजले १५ दिनको लागि आपातकालको घोषणा गर्नुभएको हो ।
कोरोना भाइरसको संक्रमण सुरु भएको चीनपछि इटाली भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित भएको छ । इटालीमा शुक्रबारसम्म भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । करिब नौ हजार व्यक्तिमा संक्रमणको पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?