logo
२०८१ असोज ५ शनिवार



अमेरिकाद्वारा संकटकालको घोषणा, फ्रान्समा एकैदिन आठसय संक्रमित थपिए

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


अमेरिकाद्वारा संकटकालको घोषणा, फ्रान्समा एकैदिन आठसय संक्रमित थपिए
तस्विर–द् न्युर्योक टाइम्स, व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गर्नुहुँदै


एजेन्सी
काठमाडौं, चैत्त १ गते । फ्रान्समा एकैदिनमा कोरोना भाइरसको आठ सय नयाँ संक्रमित थप भएको छ । एकैदिनमा भारी संख्यामा संक्रमितको पुष्टि भएपछि फ्रान्समा भाइरस संक्रमितको संख्या तीन हजार ६६१ पुगेको छ ।
फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर भेरानले पत्रकार सम्मेलन गरेर एकैदिनमा आठसय नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो । दैनिक दुई सय संक्रमित बढ्दै गएको फ्रान्समा शुक्रबार एकैपटक भारी संख्यामा नयाँ संक्रमितको पुष्टि भएको सीएनएनले उल्लेख गरेको छ ।
कोरोना भाइरसको संक्रमणले फ्रान्समा हालसम्म ७९ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गर्नुभएको छ । विश्व स्वास्थ्य संगठनले विश्वब्यापी महामारीको घोषणा गरेको दुई दिनपछि अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा गरिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना विरुद्ध लड्न ५० अर्ब अमेरिकी डलर खर्चिने घोषणा गर्नुभएको छ । उहाँले राज्यहरुलाई आपातकालीन केन्द्र सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
यसअघि ट्रम्पले २६ यूरोपेली राष्ट्रको यात्रामा प्रतिबन्ध लगाइने घोषणा गर्नुभएको थियो । उक्त घोषणा आजबाट लागू हुँदैछ । उक्त प्रतिबन्ध ३० दिनसम्म लागू हुनेछ । उहाँले उक्त सूचीमा बेलायतलाई थप्दै अन्य राष्ट्रलाई हटाउने तयारी गरिएको उल्लेख गर्नुभयो ।
अमेरिकीमा शनिबार बिहानसम्म कोरोना भाइरस संक्रमितको संख्या दुई हजार एक सय पुगेको छ । मृत्यु हुनेको संख्या ४८ पुगेको द् न्युर्योक टाइम्सको अनलाइन संस्करणले उल्लेख गरेको छ । अमेरिकाको पश्चिम भर्जिनिया मात्रै संक्रमणको पुष्टि नभएको एक मात्र राज्य हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?