सञ्जय कुमार मिश्र
गौर,चैत १ गते । नेपाल भारत सीमा स्थित रौतहटको गौर भंसार कार्यालय नजिक कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण कार्यमा तीव्र गतिमा भइरहेको छ ।
कोरोना भाइरसको संक्रमण भारतमा तीव्र गतिमा फैलिरहँदा खुला सीमाको कारणले नेपालमा समेत फैल्ने जोखिममा सीमा क्षेत्रमा सतर्कता अपनाइएको छ । गौर नगरपालिकाको स्वास्थ्यकर्मीले परीक्षण गर्ने उपकरण सहित भारतीय क्षेत्रबाट आउने सर्वसाधारणको स्वास्थ्य परीक्षण कार्य गरेको हो ।भारतको बिहार राज्यमा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि विद्यालय एवम् शैक्षिक संस्थानहरु १५ दिनका लागि बन्द गरिएको छ । बिहार राज्यको सीतामढी जिल्लाको बैरगिनियाँ सीमा भएर दैनिक कम्तिमा दुईहजार सर्वसाधारण ओहोरदोहोर गर्दै आएका छन् ।
गौर नगरपालिकाको पहलमा क्रान्तिद्वारमा कोरोना भाइरस सहायता कक्ष स्थापना गरिएको छ । सीमित साधन श्रोत एवं जनशक्तिको भरमा फागुन २४ गते देखि सीमावर्ती क्षेत्रबाट नेपाल आउनेहरुको परीक्षण भैइरहेको गौर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दिनबन्धु यादवले बताउनुभयो ।
स्थानीय राजकुमार दासले चारैतिर कोरोना भाइरसको संक्रमण फैल्ने त्रास बढिरहेको बताउनुहुँदै सहायता कक्ष सञ्चालन गरेर परीक्षण गरिदा सर्वसाधारणको त्रास हटने र सावधानी अपनाउन सहज हुने बताउनुभयो ।
सीमावर्ती भारतबाट नेपाल प्रवेश गर्ने १६ हजार व्यक्तिको शनिवारसम्म परीक्षण गरिएको तथा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा संक्रमणको लक्षण नदेखिएको डियुटीमा रहेका सिअहेव चन्देश्वर प्रसाद सिंहले बताउनुभयो ।भारतबाट खुला सीमा क्षेत्र भएर आवतजावत गर्ने सर्वसाधारणको माध्यमले नेपाली भूमीमा संक्रमण फैल्न नदिन सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
छिमेकी मुलुकहरुमा कोरोना भाइरसको संक्रमण फैलिएकोले नेपालमा सर्नबाट जोगाउन सीमामा उच्च सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । उहाँले सीमावर्ती क्षेत्रमा कोरोना सहायता कक्षको स्थापना गरी नेपाल प्रवेश गर्ने व्यक्तिहरुको स्वास्थ्य परीक्षण कार्यलाई अझै प्रभावकारी बनाउने जानकारी दिनुभयो ।