सम्पदा खतिवडा
काठमाडौं, चैत ३ गते । विश्वव्यापी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)बारे सामाजिक सञ्जालमा आउने विभिन्न किसिमका समाचार र सूचनाका कारणले बजारमा कालोबजारी र आधारभूत आवश्यकताको अभाव सिर्जना भएको छ ।फेसबुक, इन्स्टाग्राम र यूटुय्बले भाइरसबारे सत्यतथ्य जानकारी गराइए पनि विभिन्न अनलाइन न्यूज पोर्टल, पेजहरु र सामाजिक सञ्जाल प्रयोगकर्ताले अनावश्यक रुपमा कोभिड–१९ बारे डर उत्पन्न गराएपछि यस्तो अवस्था आएको हो ।
गत बिहीबार चितवनको भरतपुर अस्पताको नाममा आएको नक्कली प्रेस विज्ञप्तिका अनुसार दुईजनालाई कोरोना भाइरस लागेको समाचार सामाजिक सञ्जालमा छ्यापछ्याप्ती फैलिएपछि जनतामा निकै डर उत्पन्न गराएको थियो ।
चितवन, रत्ननगरका २३ वर्षीया माया पाठकले यस्तो समाचार पढेर परिवारका सबै सदस्यलाई जानकारी गराएपछि सबै स्तब्ध हुनुभएको थियो ।
उहाँ भन्नुहुन्छ, ‘हामीले खाद्यान्न र औषधिहरु जोहो गर्न लाग्यौं, पछि आवश्यक पर्न सक्छ कि भनेर ।’उहाँका अनुसार गलत समाचारका कारणले त्यस क्षेत्रमा सन्त्रास नै फैलिएको थियो ।
अघिल्लो महिनामा सिन्धुपाल्चोकको जुगल गाउँमा फैलिएको रुघाखोकीलाई नै कोरोना भाइरसको रुपमा सञ्जाल प्रयोगकर्ताहरुले प्रचारमा ल्याएका थिए ।
वल्र्ड इकोनोमिक फोरमले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभरि फैलिएको सार्स रोगले सन् २००२÷३ मा ७७०, इबोलाले सन् २०१४÷१६ मा ११ हजार र स्वाइन फ्लुले सन् २००९÷१० मा दुईलाख मानिसको ज्यान लिएको थियो ।
विगतमा कम सामाजिक सञ्जालको प्रयोग भएका कारणले यस्ता विषय धेरै संवेदनशील नभएको नेपाल मलिकुलर डाइनामिक्स केन्द्रका निर्देशक डा.समिरमणि दीक्षित बताउनुहुन्छ ।
उहाँ थप्नुहुन्छ, ‘सामाजिक सञ्जालमा अहिले सबैजना स्वास्थ्यविज्ञ बन्ने गरेका छन्, तर अल्पवुद्धि धेरै खतरनाक हुन्छ ।’ ‘जे सुनिन्छ र देखिन्छ, त्यो ठिक हो भन्ने नेपाली धारणा भएकाले सामाजिक सञ्जालमा आउने सक्कली र नक्कली सूचनाका कारण कोभिड–१९ बारे डर पैदा हुने गरेको छ ।’ उहाँले खतरनाक समाचार शीर्षकले मानव मनोविज्ञानमा असर पु¥याउन सक्ने तर्क समेत गर्नुभयो ।
विश्वसनियतालाई बेवास्ता गर्दै आकर्षक र संवेदनशिल शीर्षक रहेका समाचारलाई प्राथमिकता दिने नेपाली धारणा रहेको डा. प्रकाश बुढाथोकी बताउनुहुन्छ ।
‘नेपालमा भाइरसको कुनै संक्रमण नदेखिए पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले आ–आफ्नै प्रतिक्रिया दिन थाल्छन् ।’ उहाँले भन्नुभयो, ‘रोकथाम र उपचारको बारे जानकारी लिनेभन्दा पनि मनोवैज्ञनिक असर पुग्ने किसिमले कोभिड–१९बारे नकारात्मक समाचार आएपछि सर्वसाधारण त्रसित नहुने कुरै भएन ।’
उच्च रक्तचाप र चिन्तामा रहने व्यक्तिमा यस्तो डरले बढी असर गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कम सामाजिक सञ्जालको प्रयोग, आधिकारिक तथ्याङ्क, जनसंख्या तथा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सूचनामा भर पर्नाले भाइरसबारे होरियारीपूर्वक रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।