logo
२०८१ असोज ५ शनिवार



यूरोपेली संघको सीमा प्रवेशमा प्रतिबन्ध

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


यूरोपेली संघको सीमा प्रवेशमा प्रतिबन्ध
तस्विर–बीबीसी, जर्मनी र फ्रान्स जोड्ने सीमा क्षेत्रमा परिचालित सुरक्षा निकाय


एजेन्सी
काठमाडौं, चैत्त ५ गते । यूरोपीयन यूनियनले आफ्नो भूभाग बाहिरका बासिन्दाका लागि ३० दिनसम्म सीमा प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु बनेको यूरोपेली संघले उक्त निर्णय मङ्गलबार लिएको हो ।
यूरोपेली संघमा आबद्ध सदस्य राष्ट्रका सरकार प्रमुखको मङ्गलबार अपरान्ह सम्पन्न भिडियो सम्मेलनबाट उक्त निर्णय लिइएको हो । यूरोपेली आयोगका प्रमुख उर्सुला भान डर लिनले पत्रकार सम्मेलनमा सीमा प्रवेशमा प्रतिबन्ध लगाइएको निर्णय तात्कालै लागू हुने जानकारी दिनुभयो । संघको निर्णयमा बेलायत र आयरल्याण्डलाई पनि सहभागी हुन आग्रह गरिएको छ ।
सीमा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय २६ यूरोपेली राष्ट्रसहित आइसल्याण्ड, लिच्टेन्स्टैन, नर्वे र स्वीटजरल्याण्डमा समेत लागू हुनेछ । बेलायती नागरिकमा भने उक्त निर्णयको प्रभाव हुने छैन् । लामो समयसम्म यूरोपमा बस्दै आएका बाहेक गैर यूरोपली राष्ट्रका नागरिकमा निर्णय लागू हुनेछ । फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रनको प्रस्तावमा यूरोपेली संघले सीमा प्रवेशमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
इटाली, फ्रान्स र स्पैनमा ‘लक डाउन’ गरिएपनि कोरोना संक्रमित र मृतकको संख्या बढ्दै गएपछि उक्त निर्णय लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । फ्रान्समा एकैदिन १६ प्रतिशतले वृद्धि हुँदा कोरोना भाइरस संक्रमितको संख्या सात हजार ७३० पुगेको छ । फ्रान्समा मृतकको संख्या १७५ पुगेको छ । ६५ वर्षभन्दा मुनि मृत्यु हुनेको संख्या सात प्रतिशत छन् । दुई हजार पाँच सय अस्पताल भर्ना भएका छन् । ६९९ जनालाई आईसीयूमा राखिएको छ ।
जर्मनीले धार्मिक चाड पर्व मनाउन प्रतिबन्ध लगाएको छ । जर्मनीमा छ हजार संक्रमितको पुष्टि हुँदा १३ जनाको मृत्यु भएको छ । आयरल्याण्डमा मार्च महिना अन्त्य हुनुअघिसम्म १५ हजार संक्रमित पुग्ने आँकलन गरिएको छ ।
चीन र इटालीपछि कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी प्रभावित हुने राष्ट्र इरान बनेको छ । इरानमा हालसम्म १६ हजार व्यक्तिमा संक्रमणको पुष्टि भएको छ । ९८८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । इरानी न्यायपालिकाका प्रवक्ताले मङ्गलबार राजनीतिक बन्दीसहित करिब ८५ हजार जनालाई कारागारबाट मुक्त गरिएको जानकारी दिनुभयो ।
अमेरिकामा चार हजार दुईसय जनामा संक्रमणको पुष्टि भएको छ । ७५ अमेरिकी नागरिकको मृत्यु भएको छ । न्यूयोर्क, वाशिंगटन र क्यालिफोर्निया जस्ता प्रमुख राज्य कोरोनाको उच्च प्रभाव परेको छ ।
विश्वभरि कोरोना भाइरसको संक्रमणले सात हजार ५०० जनाको मृत्यु भइसकेको छ । विश्वमा करिब एक लाख ८५ हजार भाइरसबाट संक्रमित छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?