एजेन्सी
काठमाडौं, चैत्त ७ गते । इंग्लीश फुटबल अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकिनुभन्दा तीब्र रुपमा फैलिरहँदा प्रिमियर लिगले खेल स्थगित गर्ने निर्णय गरेको हो ।
प्रिमियर लिग, विमन्स सुपर लिग र विमन्स च्याम्पियनशीपसँगै स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा निर्धारित सबै खेल अहिले स्थगित छ । इंग्ल्याण्ड फुटबल संघले जारी सिजन अनिश्चितकालको लागि लम्ब्याउन सकिने जनाएको छ । नियम बमोजिम जारी सिजनको सबै खेल जुन एकसम्म सकिसक्नुपर्नेछ ।
फुटबल एशोसिएशन, प्रिमियर लिग र इएफएलले संयुक्त वक्तब्य जारी गरी २०१९–२० सिजनका खेलको सामाधान निकाल्न प्रतिबद्धता जनाएको छ । सुरक्षित र सम्भव हुने बित्तिकै सबै खेलको पुर्नतालिका गरिने वक्तब्यमा उल्लेख छ ।
स्थगित भएको घरेलु लिग पुर्नसञ्चालनका लागि यूरो २०२० को स्थगनले ढोका खोलेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पनि रोकिएको खेलकुद गतिविधि पुर्नसञ्चालनको लागि गृहकार्य गर्ने जनाएको छ ।
कोरोना भाइरस कोभिड–१९ को नयाँ केन्द्रबिन्दु यूरोप बनेपछि सबै घरेलु लिग यसअघि नै स्थगित भइसकेको छ ।