logo
२०८१ असोज ५ शनिवार



कोभिड–१९ संक्रमित गायिकाको असावधानीले भारतका दर्जनौं सांसद ‘सेल्फ क्वारेन्टाइन’मा बस्न बाध्य

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


कोभिड–१९ संक्रमित गायिकाको असावधानीले भारतका दर्जनौं सांसद ‘सेल्फ क्वारेन्टाइन’मा बस्न बाध्य


एजेन्सी
काठमाडौं, चैत्त ८ गते । भारतमा एकजना गायिकामा कोभिड–१९ को संक्रमणको पुष्टि भएपछि सांसददेखि पूर्वमुख्यमन्त्री ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपरेको छ । गायिका कनिका कपूरमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार बेलायतबाट अघिल्लो साता भारत फर्किनुभएकि कनिका मङ्गलबार भारतको लखनऊमा एक सामाजिक समारोहमा सहभागी हुनुभएको थियो । जहाँ उहाँले भारतको राजस्थानका पूर्वमुख्यमन्त्री बसुन्धरा राजे सिन्ध्या र सांसद दुष्यन्त सिंहसँगै देखिनुभयो । अब कनिका कपूरमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि पूर्वमुख्यमन्त्री सिन्ध्या र सांसद सिंह दुबैजना ‘सेल्फ क्वारेन्टाइन’मा बसेका हुन् ।
‘सेल्फ क्वारेन्टाइन’मा बस्नुअघि सांसद दुष्यन्त सिंह सदनको बैठकमा सक्रिय सहभागी हुनुका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आयोजना गर्नुभएको दिवाभोज कार्यक्रममा सहभागी हुनुभयो । भारतीय जनता पार्टीका सांसद सिंहसँग समय बिताएका केही अन्य सांसद पनि ‘सेल्फ क्वारेन्टाइन’मा बस्न बाध्य भएको द् टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ ।
भारतको उत्तरप्रदेश राज्यका स्वास्थ्य मन्त्री जयप्रताप सिंह पनि ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुभएको छ । उहाँ कनिका कपूर सहभागी सामाजिक समारोहमा सहभागी हुनुभएको थियो ।
त्यसैगरी, सिंह र कपूरको सम्पर्कमा आएका सांसद पंकज सिंह, लोक सभा सांसद अनुप्रिया पटेल पनि ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुभएको छ ।
कनिका कपूर लण्डनबाट मार्च ९ मा मुम्बई अवतरण गर्नुभएको थियो । दुई दिनपछि उहाँ एयर इन्डियाको विमानबाट लखनऊ पुग्नुभयो । मुम्बई विमानस्थलमा स्क्रिनिङ्गपछि मात्रै आफूलाई बाहिरिन दिएको गायिका कनिका कपूरले दाबी गर्नुभएको छ ।
स्वस्थ्य अवस्थामा लण्डनबाट फर्केको आफूलाई एक सातापछि मार्च १६ मा मात्रै संक्रमणको लक्षण देखापरेको कपूरको दाबी छ । १८ मार्चमा आफ्नो नमूना उपलब्ध गराउनुभएकि कपूरमा शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको छ ।
कपूरको सम्पर्कमा आएका करिब ६८ परिवारमा परीक्षण गरिएको लखनऊका प्रमुख स्वास्थ्य अधिकारी नरेन्द्र अग्रवालले जानकारी दिनुभएको छ । कनिका कपूरलाई भने संजय गान्धी पोष्ट ग्रेजुएट इन्स्टिच्युटमा ‘आइसोलेशन’मा राखिएको अग्रवालले बताउनुभयो । भारतको उत्तरप्रदेश राज्य सरकारले कनिकामाथि मुद्दा चलाउने तयारी गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?