logo
२०८१ मंसिर ८ शनिवार



कोपिला नेपालले अनलाइनबाट मनोसामाजिक परामर्श दिने

स्वास्थ्य |


कोपिला नेपालले अनलाइनबाट मनोसामाजिक परामर्श दिने


चिप्लेढुङ्गा, चैत १२ गते । कोरोना भाइरसको सन्त्रासले मानिसमा देखिन सक्ने मनोवैज्ञानिक असर न्यूनीकरण गर्न कोपिला नेपालले अनलाइन र फोनबाट मनोसामाजिक परामर्श दिने भएको छ । लामो समयदेखि हिंसापीडित महिला र बालबालिकाका क्षेत्रमा काम गर्दै आएको कोपिला सन् २००७ देखि निरन्तर मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ ।

संस्थाले हाल देखिएको विषम परिस्थितिलाई ध्यानमा राखी अनलाइन र फोनबाट कोभिड –१९ बारे सेवा प्रदान गर्न लागेको कोपिलाका कार्यकारी निर्देशक विना सिलवालले बताउनुभयो । “यो असहज परिस्थिति हो, यसले कमजोर मनोबल हुने जो कोहीलाई असर पार्न सक्छ । मानिसले आफ्नो आत्मविश्वास गुमाउन सक्छन् । यस्तो बेलामा मनोवैज्ञानिक त्रास कम गरेर उनीहरुलाइ सहज अवस्थाका बारेमा बोध गराउन सक्नुपर्छ ।” सिलवालले हालको परिस्थितिले व्यक्तिको दैनिकीमा नकारात्मक प्रभाव पार्नाका साथै बालबालिकामा लामो समय घरमा मात्रै बस्नुपर्दा असर पार्न सक्ने, एसइई परीक्षा स्थगन हुँदा विद्यार्थीमा मानसिक असर देखिन सक्ने तथा विदेशमा वा अन्य ठाउँमा रहनेहरुको मनोबल कमजोर हुन सक्ने बताउनुभयो ।

यस्तो अवस्थामा अधिकांशमा अत्यास लाग्ने, छट्पटी हुने, निद्रा वा खानामा मन नजाने वा अन्य यस्तै समस्या देखिन सक्ने उहाँको भनाइ छ । उहाँले २०७२ को भूकम्पका बेला प्रभावित क्षेत्रमा गएर मनोसामाजिक प्राथमिक स्वास्थ्य प्रदान गरिनाका साथै मानसिक स्वास्थ्योपचारमा समेत सहयोग गरिएको बताउनुभयो ।

गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा काम गरिरहेको सो संस्थाले २०१३ देखि विभिन्न कारणबाट सडक जीवन जिउन बाध्य महिलाका लागि पोखरा– ६ र २८ मा महिला सुरक्षा घरसमेत सञ्चालन गर्दै आएको छ । अहिले घरघर र गाउँगाउँमा पुग्ने अवस्था नरहेकाले फोन, म्यासेन्जर, भाइवर लगायतबाट सहयोग गरिने सिलवालले बताउनुभयो । सेवा प्राप्त गर्नका लागि निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिने छः विना सिलवाल ९८०२८०२११४, मनोपरामर्शविज्ञ प्रेम भट्टराई ९८०२८०२१२८ र डा प्रतिष्ठा वाग्ले ९८४६१४७९१५

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?