जयकृष्ण यादव
इनरुवा, चैत १४ गते । सुनसरीको गढी र देवानगञ्ज गाउँपालिकाको विभिन्न वडाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न वडाका प्रत्येक घरधुरी सदस्यलाई मास्क र साबुन वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय नै साबुन पानीले नियमित हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग भएकाले गढी ४ र देवनगञ्ज ४ नम्बर वडाले मास्क र साबुन वितरण गरेको हो ।
वडाका प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी समेतको उपस्थितिमा देवनागञ्ज ४ का एक हजार पाँच सय जनालाई एकसाथ मास्क र साबुन वितरण गरेको वडा सचिव सुकलप्रसाद मेहताले जानकारी दिनुभयो ।
लक डाउनका साथै सीमा क्षेत्र भएकाले प्रत्येक परिवारमा तीन÷तीन थान मास्क र एक ÷एक थान साबुन घरघरमा वितरण गरेको हो । देवानगञ्ज गाउँपालिका ४ का वडा अध्यक्ष चन्देश्वर मेहताले वडाबासीलाई स्वास्थ्य सुरक्षामा ध्यान दिँदै वितरण गरेको जानकारी दिनुभयो ।
त्यसैगरी, गढी ४ छिटाहामा समेत कोरोना भाइरसले विश्व नै समस्यामा परेको अवस्थामा साबुन र मास्क बोकेर नागरिकको घरदैलोमा पुगेर वितरण गरेको वडा सचिव बद्री खेरवारले बताउनुभयो ।
रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम भएको भन्दै उहाँले भिडभाडमा नजान नागरिकलाई आग्रह गर्ने गरिएको समेत बताउनुभयो ।
यसैबीच, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र वडा अध्यक्षहरुले प्रत्येक वडाबासीलाई स्यानिटाजर, साबुन र मास्क वितरण गरेका छन् ।
धरानमा कोरोना परीक्षण सुरु हुँदै
सुनसरीको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परीक्षण सुरु गरिने भएको छ । संघीय सरकारले शुक्रबारदेखि प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का अस्पतालमा कोरोना परीक्षण सुरु गर्ने निर्णय गरेसँगै धरानको वीपी प्रतिष्ठानमा पनि नमूना परिक्षण गर्न लागिएको हो ।
प्रतिष्ठानमा कोरोना परीक्षणको लागि बिहीबार किट आईपुगेको भए पनि अन्य थप परिक्षण गर्दा प्रयोग हुने सामाग्री आई नपुगेकोले कोरोना परिक्षण गर्न नसकिएकोमा शुक्रबार सबै सामाग्री आईपुग्ने भएकोले शनिबार विहानसम्ममा प्रतिष्ठानमै कोरोनाको नूमना परिक्षण गरिने प्रदेश एक सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाका प्रमुख डा.सुरेश मेहताले जानकारी दिनुभयो ।
सरकारले उपत्यका बाहिर प्रदेश १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको सुरुवात गर्ने जानकारी दिएको छ ।