logo
२०८१ असोज ६ आईतवार



हजार शैय्याको अस्पतालसहितको अमेरिकी नौसेना जहाज न्युर्योक शहर पुग्यो

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


हजार शैय्याको अस्पतालसहितको अमेरिकी नौसेना जहाज न्युर्योक शहर पुग्यो
तस्विर- सिन्हवा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १७ गते । शहरी अस्पतालमा कोभिड–१९ बिरामीको चाप धान्नै नसक्ने गरी बढेपछि एक हजार शैय्यासहितको अमेरिकी नौसेना जहाज न्युर्योक शहर पुगेको छ । पछिल्लो दिनमा विश्वब्यापी महामारीको रुप लिएको कोरोना संक्रमणको केन्द्रबिन्दु बनेको न्युर्योक शहरमा मात्रै करिब ३६ हजार बढी कोभिड–१९ संक्रमितको पुष्टि भएको छ । न्युर्योक शहरमा मात्रै मृतकको संख्या एक हजार दुई सय करिब पुगेको छ ।
न्युर्योक राज्यका गर्भनर एन्ड्रयु क्युमो र शहरका मेयर बिल डी ब्लासियोले पायर ९० नौसेना जहाजलाई पश्चिमी म्यानहाल्टनमा स्वागत गर्नुभएको छ । उक्त जहाजमा करिब एक हजार दुई सय स्वास्थ्य अधिकारीहरु रहेका छन् । १२ वटा शल्यक्रिया सुविधासहितको अत्याधुनिक चिकित्सकीय उपकरण जडान छ । जहाजमा प्रयोगशाला, औषधी पसल, सिटी स्क्यानसहितको सुविधा उपलब्ध छ ।
शहरका अस्पतालमा बिरामीको चाप अत्याधिक हुँदा चाप कम गर्न मंगलबारदेखि नौसेना जहाजमा बिरामीलाई भर्ना गरिने सिन्हवाले जनाएको छ । न्युर्योक शहर अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको शहर हो ।
अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या एक लाख ६० हजार ६९८ पुगेको छ । मृतकको संख्या तीन हजार तीन रहेको सीएनएनले उल्लेख गरेको छ । सोमबार मात्रै अमेरिकामा कोरोना संक्रमणले ५७४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?