गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २१ गते । चीनको शेन्जेन शहरले कुकुर र बिरालोको मासु बिक्रि वितरणमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण जङ्गली जनावरको मासुबाट सरेको हुनसक्ने आशंकाका बीच चिनियाँ अधिकारीहरुले यसअघि जङ्गली जनावरको मासु बिक्रि वितरणमा रोक लगाएको थियो ।
बीबीसीका अनुसार शेन्जेनका अधिकारीहरुले उक्त रोकभन्दा एक कदम अगाडि बढ्दै शहरमा कुकुर र बिरालोको मासु बिक्रि वितरणमा समेत प्रतिबन्ध लगाएको हो । उक्त नयाँ प्रतिबन्ध मई एकदेखि लागू हुनेछ । अन्तर्राष्ट्रिय मानव समाजका अनुसार एशियामा मासु प्रयोजनको लागि वार्षिक तीन करोड कुकुर मारिने गरिएको छ । यद्दपी चीनमा कुकुरको मासु रुचीप्रद छैन् । अधिकांश चिनियाँले कुकुरको मासुमा कुनै रुची देखाएको छैन् ।
कुकुर र बिरालो मानिसको सबैभन्दा नजिकको घरपालुवा जनावर छन् । रोयर्टससँग कुराकानी गर्नुहुँदै शेन्जेन सरकारका एक अधिकारीले विकसित राष्ट्रमा कुकुरको मासुमा प्रतिबन्ध लगाउनु सामान्य रहेको बताउनुभयो । उहाँले हङकङ र ताइवानमा यसअघि नै कुकुरको मासु खपतमा प्रतिबन्धित छ ।
जनावर अधिकारको वकालत गर्ने संस्था अन्तर्राष्ट्रिय मानव समाजले पनि उक्त कदमको प्रशंसा गरेको छ । समाजका लागि चिनियाँ नीति विज्ञ डा पिटर लीले वार्षिक एक करोड कुकुर र चालिस लाख बिरालोलाई निर्दयी भएर मारिदै आएकोमा कुकुर र बिरालोको मासु खपतमा लगाइएको प्रतिबन्ध सराहनीय रहेको प्रतिक्रिया दिनुभयो ।
यद्दपी चीनले भने कोरोना भाइरसको उपचारका लागि भालुको पित्त प्रयोग गर्न अनुमति दिएको छ । जिउँदो भालुको पित्तलाई विभिन्न रोगको निदानका लागि प्रयोग गरिनु चीनमा परम्परागत् उपचार पद्धती हो । पित्तमा सक्रिय अर्सोडिओक्सिकोलिक अम्लले लिभरमा हुने पत्थर घुल्न मद्दत गर्छ ।
गत् फेब्रुअरीमा चीनमा जङ्गली जनावरको ब्यापार र खपतमा प्रतिबन्ध लगाएको थियो । वुहान शहरस्थित एक जङ्गली जनावरको मासु पाइने बजारबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । जनावरबाट मानिसमा भाइरस फैलिएको दाबीपछि चीन सरकारले ब्यापार र खपतमा प्रतिबन्ध लगाउनुका साथै कडाइ गरेको थियो ।
वैज्ञानिक र अनुसन्धानकत्र्ता भने अझै भाइरसको स्रोत र मानवमा कसरी सर्यो भने बारे स्पष्ट भइसकेका छैन् ।