logo
२०८१ मंसिर ९ आईतवार



विरामीले अस्पताल आउन डर मान्नुपर्दैन

स्वास्थ्य |


विरामीले अस्पताल आउन डर मान्नुपर्दैन


चितवन, चैत २२ गते । कोरोना भाइरस (कोभिड –१९ ) को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहदैनन् । सो जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले वढी सजग हुन सुझाव दिएका छन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “गत वर्षहरुमा यो समयमा करिव २० जना हृदयरोगका विरामी उपचारका लागि आउने तथ्याङ्क छ । तर अहिले दुई जना पनि आउँदैनन् ।” टेलिफोन गरेर सोधपुछ गर्ने भए पनि रोग पालेर बसेका छन् की भन्ने चिन्ता हुन थालेको डा अधिकारीको भनाई छ ।
उहाँले घरमानै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक सम्भावित जटिल हुन सक्ने खालका विरामीलाई अस्पताल आउन आग्रह गर्नुभयो । डा अधिकारीले भन्नुभयो “अस्पताल आउनै पर्ने विरामीले डर मान्नुपर्दैन । उच्च जोखिमका रोग पालेर बस्नुहुँदैन । ”

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार गएको आठ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा ३ हजार ८२९ जना विभिन्न रोगका विरामीले सेवा लिएका थिए । ती मध्ये ८५० जना ज्वरोका र ६२ जना रुघाघोकिका रहेका थिए । गतवर्ष यतिवेला जिल्लाका अस्पतलाहरुमा ७ हजार भन्दा बढि विरामीले सेवा लिएका थिए ।
जिल्लामा केन्द्रीयस्तरको भरतपुर अस्पताल, २ नीजि मेडिकल कलेज, २० नीजि अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायिक इकाई रहेका छन् । प्रमुख तिवारीले घरबाटै चिकित्सक तथा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने काम भइरहेको र अस्पताल आउँन डर मानेर पनि विरामी नआएको हुन सक्ने बताउनुहुन्छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल गतबर्ष यस समयमा दैनिक दैनिक १ हजार ५ सय भन्दा वढि विरामी आउने गरेको भए पनि शुक्रबार १५० जना बिरामी मात्र आएको बताउनुहुन्छ । त्यति नै सङ्ख्यामा बिरामी आउने चितवन मेडिकल कलेजमा शुक्रबार करिव एकसय जना मात्र विरामीले सेवा लिएका थिए ।
कलेजका निर्देशक डा. दयाराम लम्सालले चिकित्सकले सेवा जारी राखेको जानकारी दिँदै लकडाउन पछि त विरामी नै आउन छाडेको बताउनुहुन्छ । उहाँ जटिल रोगका बिरामीलाई घरमा नै रोग पालेर नबस्न आग्रह गर्नुहुन्छ ।
भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेले चिकित्सकले आफ्नो सेवा निरन्तर जारी राखेको बताउनुहुन्छ । टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्कसंग आउन उहाँले आग्रह गर्नुभयो ।
नेपाल चिकित्सक सङघ चितवनका अध्यक्ष एवम् बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा पुराना रोगहरु मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम जस्ता समस्यामा सम्बन्धित चिकित्सकसंग परामर्श गरेर औषधि प्रयोग गर्न सुझाब दिनुहुन्छ । दम बढ्यो, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने बताउनु हुन्छ । ज्वरो कोरोनाका कारण मात्र नभए डेंगु, मलेरीया, स्क्रबटाईफस, हेपाटाईटिस जस्ता कारणले पनि हुने भएकाले कारणको खोजि गर्नु पर्ने उहाँको भनाई छ ।
नेपाल पत्रकार महासङघका अध्यक्ष राधेश्याम खतिवडा भ्रमका कारण जोखिम बढेको बताउनुहुन्छ । ‘बाहिर सर्बसाधारणमा चिकित्सकले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र ढोकाबाटै फर्काउँदछन्’ भन्ने हल्लाका कारण विरामी अस्पताल नआउने गरेको उहाँको भनाई छ ।


जिल्लाभित्र उत्पादन भएका तरकारी बिक्री वितरण गर्न माग
जिल्लाको तरकारी तथा फलफूललाई नै बिक्री वितरणमा प्रवद्र्धन गर्न माग गरिएको छ । लकडाउनको समयमा पनि भारतबाट तरकारी लिएर सवारी साधन आइरहेका र त्यस्ता सवारी साधनले कोरोना भाइरसको सम्भावित जोखिम वढाएको भन्दै व्यवसायिले सो माग गरेका हुन् ।
उद्योग बाणिज्य सङ्घका अध्यक्ष राजु श्रेष्ठले रातको समयमा दैनिक भारतीय तरकारी लिएर सवारी साधन आइरहेको जानकारी दिनुभयो । उहाँले ती साधनले कोरोनाको जोखिम बढाएको हुँदा जिल्लाकै कृषकले बारीमा फलाएको तरकारी बिक्रीको व्यवस्था मिलाउन माग गर्नुभयो ।
फलफुल तथा तरकारी थोक व्यवसायी सङ्घका अध्यक्ष मदन सापकोटाले भारतीय तरकारी रोक्ने र सामाजिक दूरी कायम गर्न स्थानीय प्रशासनले सहयोग गरेमा जिल्लाको तरकारी बिक्री गर्न सकिने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले भारतीय तरकारीका सवारी साधनलाई रोकिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?