दीपक श्रेष्ठ
काठमाडौँ, चैत २३ गते । अन्तरकाउन्सिल समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका लागि कार्यक्षेत्रमा खटिदा आफ्नो र सेवाग्राहीको सुरक्षामा उच्च ध्यान दिन चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारीमा अपिल गरेको छ ।
अन्तरकाउन्सिलले उपचार तथा विरामीको हरेचाह सम्बन्धि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय निर्देशिकाहरुको समुचित प्रयोग गर्नसमेत अपिल गरिएको छ । व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गर्दा जुन तहको व्यक्तिगत सुरक्षा सामग्री आवश्यक हो सोही अनुसार प्रयोग गर्न आग्रह गरिएको छ ।
अन्तरकाउन्सिलले आइतबार विज्ञप्तिजारी गरी अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गर्न, अस्पतालमा आउने विरामीलाई दिने सल्लाह र भर्नासम्बन्धी निर्देशिका बनाउन, जुनसुकै प्रकारको आकस्मिक सेवा दिनुपर्ने विरामीलाई प्रारम्भिक परीक्षण गरी सम्भव भएसम्म सोही ठाउँमा उपचार गर्ने, औषधि तथा उपचारका सामग्रीको उपलब्धता सुनिश्चित गर्ने, रोग निदानका लागि आवश्यक सेवाहरु प्रयोगशाला, रेडियोलोजीलगायतलाई दुरुस्त राख्नेलगायत आठ बुँदे अपिल गरेको छ ।
अन्तरकाउन्सिलमा नेपाल मेडिकल काउन्सिल, आयुर्वेद चिकित्स परिषद्, नेपाल नर्सिंग परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल फार्मेसी परिषद् रहेका छन् ।