नायक पौडेल
मोरङ, बैशाख २२ गते । गएको चैत ११ गते सरकारले देशव्यापी लकडाउन घोषणा गरेदेखि मानिसका आँखा अधिकांश समय इलेक्ट्रोनिक ग्याजेटमा छन् । अत्यावश्यक बाहेक हिँडडुलमा रोक लगाएसँगै घरमै टेलिभिजन हेर्ने र मोबाइल चलाउने क्रम बढेको छ ।
‘शैक्षिक संस्था बन्द नहुँदा बच्चाहरु टिभी र मोबाइलमा निकै कम समय बिताउँथे । अहिले विद्यालय र कलेज बन्द हुँदा कि दिनभरी टिभीअगाडि हुन्छन्, कि त मोबाइलमै झुन्डिरहन्छन् ।’ दुई सन्तानकी आमा पथरी शनिश्चरेकी मेनुका बस्नेतले भन्नुभयो ।
आँखा रोगसम्बन्धी विज्ञहरुका अनुसार संसारभरी नै धेरै टेलिभिजन हेर्ने र मोबाइल फोन चलाउने बानीका कारण आँखासम्बन्धी समस्या गम्भीर विषय बनेको छ । साथै लकडाउनका समयमा अझ बढी विद्युतीय सामग्रीकै भर पर्दा आँखाको स्वास्थ्य समस्या वृद्धि हुने जोखिम बढेको छ ।
नेत्र रोग विशेषज्ञका अनुसार कम्प्युटर, मोबाइल फोन, टेलिभिजन, ट्याब्लेट तथा ल्यापटपलगायत अन्य विद्युतीय सामग्रीका स्क्रीनमा लामो समय लगातार हेर्नाले मानिसमा आँखाको दृष्टिसम्बन्धी समस्याहरु अर्थात् कम्प्युटर भिजन सिन्ड्रोमबाट ग्रसित हुन्छन् ।
आँखा दुख्नु, टाउको दुख्नु, दृष्टि धमिलो हुनु, आँखा सुख्खा हुनु र गर्दन तथा काँध दुख्नु कम्प्युटर भिजन सिन्ड्रोमसम्बन्धी सामान्य लक्षण हुन् । ‘एकोहोरो ग्याजेटका स्क्रिनमा हेरिरहँदा आँखाको झिम्क्याइको दर कम हुन्छ, जसका कारण आँखामा सुख्खापन बढ्दै जान्छ । जसका कारण आँखाको तनाव बढेर टाउको दुख्ने समस्या देखा पर्छ । यो सबै उमेरका मानिसलाई हुन्छ ।’ नेपाल आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. अर्चना शर्मा बताउनुहुन्छ ।
लकडाउनको समयमा घरबाहिर निस्कन नपाएपछि बालबालिका, वयस्कदेखि ज्येष्ठ नागरिकसम्मको समय इलेक्ट्रोनिक ग्याजेटमा बित्ने गरेको छ । अनलाईन खेलदेखि सिनेमा, सिरियल तथा टिभी कार्यक्रमहरुको प्रशारण हेर्नमै मानिसहरु अहिले दिन बिताइरहेका छन् । तर नेत्र रोग विशेषज्ञहरु सर्वसाधारणलाई ग्याजेटका स्क्रिनमा भन्दा अन्य क्रियाकलापमा व्यस्त हुन सुझाव दिन्छन् ।
‘घरबाटै काम गर्नुपर्ने अवस्था तथा अनलाईन कक्षाका कारण मानिसहरु अन्य मनोरञ्जनमा भन्दा बढी ग्याजेटकै स्क्रिममा बस्नुपर्ने हुन्छ । कक्षा र काम सकेपछि फेरि मानिसहरु मनोरञ्जनका लागि पनि स्क्रिन नै हेर्छन् । यसरी निरन्तर स्क्रिनमा हेर्ने हुँदा आँखाको स्वास्थ्यमा असर गर्छ ।’ तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत तथा नेत्र रोग विशेषज्ञ डा. रीता गुरुङ बताउनुहुन्छ ।
नेत्र रोग विशेषज्ञहरुका अनुसार घरमा हुँदा एकअर्कासँग मिलेर सिर्जनात्मक काम गर्नुपर्छ । ‘अन्य समयमा अभिभावकहरु काममा व्यस्त भएका कारण बालबालिकालाई मोबाइल र टेलिभिजन हेर्नुपर्ने हुन्थ्यो । अहिले अभिभावक फुर्सदमा हुँदा बालबालिकालाई रचनात्मक काममा लगाउनुपर्छ ।’ डा. शर्माले भन्नुभयो । उहँका अनुसार अभिभावकले बालबालिकालाई खाना पकाउन, बगैँचा, करेसा तथा खेतबारीको काम सिकाउन सक्छन् । त्यस्तै घरभित्रै खेल्न सकिने खेलहरु खेलाएर पनि बालकालिकासँग प्रशस्त समय बिताउन सकिन्छ ।