इश्वरचन्द्र झा
काठमाडौं, वैशाख २३ गते । विश्वका नेताहरुले कोरोना भाइरसको उपचार तथा निदान एवम् खोप विकासका लागि आठ अर्ब अमेरिकी डलर उपलब्ध गराउने सहमति गरेका छन् । यूरोपेली संघले आयोजना गरेको अनलाइन बैठकमा ४० राष्ट्रको सहभागितामा उक्त वाचा गरिएको हो ।
यूरोपेली आयोगका अध्यक्ष उरसुला भोन डर लियेनले उक्त वाचाले विश्वब्यापी समन्वयको ढोका खोलेको प्रतिक्रिया दिनुभएको छ । उहाँले यस्ता वाचाले यथार्थ एकताबद्ध र मानवीयता दर्शाएको बताउनुभयो । यद्दपी उहाँले आगामी दिनमा अझै धेरै आवश्यक पर्नेमा सबै राष्ट्र चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो ।
उक्त अनलाइन बैठकमा सहभागी ३० राष्ट्रसँगै संयुक्त राष्ट्र संघ र परोपकारी निकाय एवम् अनुसन्धान संस्थाले अनुदानको प्रतिबद्धता व्यक्त गरेका छन् । अनुदान दिनेमा पप गायक मडोनापनि सहभागी हुनुहुन्थ्यो । उहाँ दश लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने बताउनुभएको छ ।
यूरोपेली आयोग र नर्वेले खोप विकासका लागि एक एक अरब अमेरिकी डलर उपलब्ध गराउने वाचा गरेको छ । फ्रान्स, सऊदी अरेबिया र जर्मनीले पचास पचास करोड यूरो र जापानले ८० करोड अमेरिकी डलर उपलब्ध गराउन सहमत भएको छ । अमेरिका र रुस उक्त सम्मेलनमा सहभागी भएनन ।
कोरोनाभाइरसको उत्पत्ति भएको चीनले भने बैठकमा सहभागिताका लागि यूरोपेली संघका लागि आफ्नो राजदूतलाई जिम्मेवारी दिएको थियो । संकलित कोषमध्ये चार अरब ४० करोड अमेरिकी डलर खोप विकासका लागि खर्चिनेछ । दुई अरब अमेरिकी डलर उपचार पद्धतीको खोजमा र एक अरब ६० करोड अमेरिकी डलर परीक्षणमा खर्चिने सहमति भएको छ ।
यूरोपेली आयोगकी अध्यक्षले अनलाइन सम्मेलनको समापन समारोहमा भन्नुभयो, “कोरोनाभाइरस विरुद्धको लडाइको लागि मे ४ तारिक परिवर्तनको बिन्दु हुनेछ, किनभने विश्व समुदाय एक ठाउँमा आएका छन् ।” उहाँले सहयोगी धेरै भए पनि कोरोनाभाइरसलाई परास्त गर्ने लक्ष्य सबैको एउटै रहेको बताउनुभयो ।
बैठकको सह आयोजक समेत रहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हाम्रो एकताबद्धले वैज्ञानिकलाई छिटो खोप विकास गर्न प्रेरित गर्ने बताउनुभयो । कोभिड–१९ को संक्रमणले तीन रात आईसीयूमा भर्ना भई निको हुनुभएका जोन्सनले ३८ करोड ८० लाख यूरो अनुदान दिने घोषणा गर्नुभयो ।
यूरोपेली आयोगले आयोजना गरेको सम्मेलनको बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, नर्वे र सऊदी अरेबियाले सहआयोजना गरेको छ । इटालीका प्रधानमन्त्री जिसेप कोन्टे, फ्रान्सेली राष्ट्रपति इमानुएल मैक्रन र जर्मन चान्सलर एञ्जेला मर्केलले उक्त सुरुवातमा हस्ताक्षर गर्नुभएको छ ।
“हाम्रो विश्वले खोप विकास गर्न सके विश्वका लागि हुनेछ र यो २१ औं शताब्दीको विश्व सामाग्री हुने छ”– सम्मेलनपछि सबैले हस्ताक्षर गरेको सञ्चार सामग्रीमा उल्लेख गरिएको छ । सम्मेलनकै क्रममा सबै हस्ताक्षरकत्र्ता राष्ट्रले विश्व स्वास्थ्य संगठनको कार्ययोजनालाई समर्थन समेत जनाएको छ ।
संयुक्त राष्ट्र संघले भने खोपको विकासपछि मात्रै जनजिवन सामान्य हुने बताएको छ ।