स्याङ्जा समाचारदाता
स्याङ्जा, बैशाख २३ गते । कोरोना भाइरसले समस्या बनिरहदाँ स्याङ्जाको वालिङ नगरपालिका ८ मा एक जना डेङ्गुका विरामी फेला परेको छ । यहाँका ७० वर्षीय पुरुषमा डेङ्गुको संक्रमण रहेको पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
डेङ्गुको संक्रमण भेटिएका पुरुषको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको र विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
डेङ्गु भाईरसद्वारा संक्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाईबाट सर्ने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु, शरीरमा विविराहरु आउनु, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरु देखिएमा डेङ्गु रोगको संक्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नहुन स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
वालिङमा डेङ्गुका विरामी फेला परेपछि नगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भाको खोजी र नष्ट गर्ने अभियान’ थाल्ने तयारीमा गरेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
भाईरसबाट सर्ने रोग भएको हुँदा यसको उपचार नभएकाले पूर्व सावधानी नै महत्वपूर्ण भएको बताउदै नगर प्रमुख खाँणले रोग सर्नुका कारणहरु, लक्षण तथा यसबाट बच्न अपनाउन सकिने उपायहरुबारेमा नगरबासीलाई सचेतना जगाउनका लागि प्रचारात्मक अभियान एक दुई दिनमा चलाउने बताउनुभयो ।