अमरराज नहर्की
तनहुँ, वैशाख २७ गते । दमौली अस्पतालमा सघन उपचार (आइसियु) कक्ष बन्ने भएको छ । कोरोना भाईरस (कोविड–१९) सङ्क्रमित बिरामी फेला परेमा आपतकालिन उपचारका लागि सघन कक्ष निर्माण गर्न लागिएको हो ।
जिल्लास्तरीय अस्पताल भएपनि सघन उपचारको सुविधा नहुँदा जटिल खालका बिरामीलाई पोखरा, भरतपुर वा काठमाडौँ जानु पर्ने बाध्यता रहेको छ । गण्डकी प्रदेश सरकारले जिल्ला स्तरका अस्पतालमा सघन कक्ष निर्माणा गर्न निर्णय गरे अनुसार निर्माणा गर्न लागिएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालको पुरानो भवनको प्रसुति कक्षलाई भेन्टिलेटर सहितको पाँच बेड क्षमताकाे सघन उपचार कक्षमा रुपान्तरण गर्न लागिएको अध्यक्ष अधिकारीले बताउनुभयो । प्रसुति कक्षको सेवा २०७२ सालमा निर्माण गरिएको हाे । अस्पतालले हाल पुरानो भवनबाट इमरजेन्सी सेवा सञ्चालन गरिरहेको छ ।
कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवनमा आइसोलेशन कक्ष बनाउने तयारी गरिएको भए पनि उक्त भवन दमौली अस्पतालको पहुँचभन्दा बाहिर भएकाले पुरानो प्रसुति कक्षामा बनाउन लागिएको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले जानकारी दिनुभयो । हालको लागि कोरोना लक्षित आइसियु कक्ष भए पनि भविष्यमा सो कक्षले अन्य बिरामीलाई पनि सेवा प्रवाहमा सहज हुनेछ । दमौली अस्पतालमा नै सुविधा भएपछि धेरै रकम खर्चेर टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुनेछ ।
मन्त्री चुमानद्धारा सघन उपचार कक्षको निमार्ण बारे जानकारी
यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले दमौली अस्पतालमा निर्माण गर्न लागिएको सघन उपचार कक्ष तथा अस्पतालको सेवा प्रवाहको बारेमा शुक्रबार जानकारी लिनुभएको छ । ‘भोलि पनि यस्ता महामारी तथा प्रकोप आउनसक्ने हुँदा प्रदेश सरकारको मातहतमा रहेको सबै जिल्ला अस्पतालमा आइसियुसहितको अस्पताल बनाउने निर्णय गरिएको हो’ मन्त्री चुमानले भन्नुभयाे ।
मनाङ र मुस्ताङमा दुई÷दुई बेडको र अरु जिल्लाहरुमा पाँच÷पाँच बेडको आईसियुसहितको बेड स्थापना गर्ने निर्णय गरेको मन्त्री चुमानले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले महामारी आएको बेला जोखिम न्युनीकरण गर्न सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको मन्त्री चुमानको भनाइ छ । साथै उहाँले पोखरास्थित पोखरा लेखनाथ लायन्स हस्पिटललाई सरुवा रोग अस्पताल बनाउन लागिएको जानकारी दिनुभयो । निर्माणका लागि लागत इष्टिमेट तयार पारेर प्रदेश सरकारमा पठाउन पनि मन्त्री चुमानले अस्पताल विकास समितिलाई आग्रह गर्नुभयो ।