धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख ३१ गते । सप्तरीका सङ्क्रमित युवकको कन्ट्याक्ट सर्वे (स्क्यानिङ्ग) कार्य बुधबारदेखि शुरु गरिएको छ । प्रदेश २ सामाजिक विकास मन्त्रलाय र स्वास्थ्य निर्देशनालायको संयुक्त टोलीले कन्ट्याक्ट स्क्यानिङ्ग शुरु गरेकाे स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो ।
सङ्क्रमितको यात्रा वृत्तान्तले कोकोसँग सम्पर्कमा आए र कसरी सङ्क्रमित भए भन्ने पत्ता लाग्ने भएकोले सो कार्य शुरु गरिएको उहाँले बताउनुभयाे । यसको परिणाम भोली बिहीबारसम्म आइपुग्छ । कन्ट्याक्ट सर्वेले ट्रेसिङ्ग गरिसकेपछि सम्पर्कमा आएको व्यक्तिको संख्या यकिन हुने उहाँको कथन छ ।
युवक क्वारेन्टाइनमा बस्दा र घर फर्किएपछि सीधा सम्पर्कमा आएका दुई महिलासहित २३ जनाको मंगलबार थ्रोट स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । पीसीआरको रिपोर्ट नआएसम्म ती २३ जनालाई पातोस्थित चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको छ ।
सङ्क्रमित युवकको सीधा सम्पर्कमा आएका आमाबाबु, हजुरआमा, उनीसहित चितवनबाट १३ जनाको समूहमा आएकामध्ये १२, क्वारेन्टाइनमा बसेको बेला क्वारेन्टाइनमा रहेका दुई, त्यहिबेला कपिलवस्तुबाट आएर क्वारेन्टाइनमा बसेका तीन, क्वारेन्टाइनका दुई जना प्रहरी र एक जना स्वास्थ्यकर्मी गरी २३ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको बताइएको छ ।
कन्ट्याक्ट ट्रेसिङले संख्या यकिन भएपछि थप थ्रोट स्वाब सङ्कलन गर्ने योजना रहेको स्वास्थ्य कार्यालयको निमित्त प्रमुख यादवले बताउनुभयो । कन्ट्याक्ट ट्रेसिङ र थप थ्रोट स्वाब सङ्कलन कार्य दुई दिनभित्र सकिने गरी द्रुत गतिमा काम भइरहेको बताइएको छ ।
गत २९ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटेलका १८ वर्षीय युवक कोरोना सङ्क्रमण भेटिएको थियो । उनलाई सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । लकडाउनका बेला गत वैशाख ९ गते सङ्क्रमित युवक चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर सप्तरी आइपुगेपछि उनीहरुलाई चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको थियो । गत २६ गते स्वास्थ्य कार्यालय सप्तरीले सो क्वारेन्टाइनमा समय अवधि पूरा गरेकोमध्ये स्याम्पलिङ्गको आधारमा उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो । स्वाब परीक्षणको रिपोर्ट नआउँदै उनलाई २८ गते घर पठाइएको थियो ।