काठमाडौँ, जेठ १२ गते । नेपाल नेशनल अस्पताल, कलङ्कीले आफ्नो अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीको बिमा गर्ने भएको छ । नेशनल अस्पतालले विश्वव्यापी रूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चिकित्सक, नर्स तथा कर्मचारीको रु एक लाख बराबरको बिमा गर्न लागेको हो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्यालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको अवस्थामा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीको मनोबल उच्च राख्न बिमा गर्न लागेको जानकारी दिनुभयो । अस्पतालमा १०० भन्दा बढी चिकत्सक, नर्स तथा कर्मचारी कार्यरत छन् । उक्त अस्पतालले कोरोना सङ्क्रमणको उपचारका लागि तीन शय्याको आइसोलेसन कक्षसमेत निर्माण गर्न लागेको छ ।