दैलेख समाचारदाता
दैलेख, जेठ १८ गते । जिल्ला स्वास्थ्य कार्यालय, दैलेखको आकस्मिक कक्ष सिल गरिएको छ । भारतबाट आएका एक युवा क्वारेन्टाइनबाट भागेर स्वास्थ्य कार्यालय, दैलेखको इमरजेन्सी वार्डमा आफूलाई ज्वरो आएको भन्दै गएको र उपचार गराएपछि पछि उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि इमरजेन्सी वार्ड सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय, दैलेखले जानकारी दिएको छ । उहाँ २२ वर्षीय पुरुष मधुमेह रोगका बिरामी रहेछन् ।
जिल्ला स्वास्थ्य कार्यालय खोप अधिकृत थीरप्रसाद रेग्मीले अस्पतालमा उपचार गराउन आउँदा स्वास्थ्य सेवा कार्यालय, दैलेखका कर्मचारीले सोधेको कुरा सत्य नगरेपछि अहिले आकस्मिक कक्षमा उपचार गरेका अन्य बिरामी र कर्मचारीसमेत सबैलाई सिल गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो । उहाँले आफू एक वर्षअघि भारतबाट आएको भन्दै ढाँटेर आकस्मिक कक्षमा भर्ना भएका थिए । केही दिनअघि मात्र भारतबाट आएको मात्र नभै क्वारेन्टाइनबाट भागेको खुलेपछि उनको आरडीटी परीक्षण गरिएको थियो ।
आरडीटी परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि आकस्मिक कक्ष सिल गरिएको हो । उनलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । अहिले अन्य बिरामीहरूको उपचारका लागि छिट्टै आपतकालिन कक्ष स्थापना गरिने जनाइएको छ । जिल्लामा स्वास्थ्यकर्मीहरूको अभाव भएका बेलामा झनै समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालय, दैलेखका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिनुभयो । भारतबाट आएका व्यक्तिहरू सभ्य तरिकाले क्वारेन्टाइनमा नबसेका कारण पनि जिल्लामा धेरै समस्या उत्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अवस्था जटिल बन्दै जान थालेपछि क्वारेन्टाइनको विकल्प खोजी गर्ने तयारी थालिएको जानकारी दिनुभयो ।