गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १८ गते । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा धूमपानकै कारण वार्षिक २७ हजारको मृत्यु हुने गरेको छ ।
विश्व धूमपानरहित दिवसको अवसरमा भरतपुर महानगरपालिका, स्वास्थ्य पत्रकार मञ्च, लगायतका संस्थाहरूले आयोजना गरेको भर्चुअल सेमिनारमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण गरेको बताउनुभयो ।
कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले धूमपान तथा सुर्तीजन्य पदार्थसँग नसर्ने रोग अन्तरसम्बन्धित रहेको बताउनुभयो । उहाँले पछिल्लो समयमा देखा परेको कोरोनाको धूमपानसँग सम्बन्धित रहेको भन्दै सरकारले नियन्त्रणका लागि विशेष ध्यान दिन आग्रह गर्नुभयो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो प्रदेशले सुर्तीजन्य पदार्थ नियन्त्रणमा गरेका प्रयासहरू थालिसकेको बताउनुभयो । उहाँले विद्यालय शौचालयको अनुगमनबाट आफूले सुर्तीजन्य पदार्थको प्रयोग युवापुस्तामा कुन रुपमा भएको रहेछ भन्ने बुझेर नै कडाइका साथ कानून कार्यान्वनयमा ल्याउन प्रयास गरेको बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सरकारले गरेको प्रयास र चालेका कदमबारे जानकारी गराउनुभयो ।