logo
२०८१ मंसिर १० सोमवार



थप दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

स्वास्थ्य |


थप दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि


अमृतप्रसाद पौडेल
बेनी, जेठ १९ गते । म्याग्दी जिल्लामा आइतबार थप दुई जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएसँगै चालु आर्थिक वर्षको माघ महिनादेखि यता मात्रै सङ्क्रमण हुनेको सङ्ख्या १२ पुगेको छ ।
उच्च ज्वरो आउने, जाडो हुने र शरीरका जोर्नीहरू दुख्नेलगायत समस्या भएपछि बेनी अस्पतालमा उपचारका लागि आउनुभएकी मङ्गला–५, अर्मन (छिसवाङ)का ४९ वर्षीया महिलामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । उहाँ गएको वैशाख २८ गते पोखराबाट म्याग्दी आउनुभएको थियो । यसैगरी, बेनी नगरपालिका–६, अर्थुङ्गेका ५४ वर्षीया महिलालाई पनि डेङ्गुसँगै स्क्रबटाइफसको समेत सङ्क्रमण देखिएको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर मनोज घिमिरेले बताउनुभयो ।

अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार शनिबार मङ्गला गाउँपालिका–३, बरंजाकी १३ वर्षीया बालिकामा पनि डेङ्गु पुष्टि भएको थियो । उहाँले दिएको जानकारी अनुसार आइतबार डेङ्गु पोजिटिभ देखिएको महिलामा डेङ्गुको हेमोरोजिक (आन्तरिक रक्तस्राव)को समस्या देखिएपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

यसअघि अन्नपुर्ण गाउँपालिका–६, घारको ४५ वर्षीया महिलालाई गत माघ २ गते, मङ्गला–५, अर्मनका १७ वर्षीय पुरुषलाई वैशाख ९ गते डेङ्गु पोजिटिभ देखिएको थियो । त्यस्तै बेनी नगरपालिका–९, का ३० वर्षीय पुरुषलाई वैशाख १८, बेनी ६ का ५८ वर्षीय महिलालाई वैशाख १९ गते, बेनी–५, भीरमुनीका ३६ वर्षीया महिलालाई वैशाख २१ गते र मङ्गला गाउँपालिका–१, कुहुँका २५ वर्षीय र बेनी नगरपालिका–७, मङ्गलाघाटका २८ वर्षीय पुरुषलाई वैशाख २४ गते डेङ्गु सङ्क्रमण पोजिटिभ देखिएको थियो । त्यस्तै वैशाख २६ गते बेनी–६, छापका २८ वर्षीय पुरुष र बेनी–५, पुलाचौरका २५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, म्याग्दीमा यस वर्ष आइतबार देखिएको एक जनासँगै ५ जनामा स्क्रबटाइफसको सङ्क्रमण भेटिएको छ । मुसाको शरीरमा पाइने परजीविको टोकाइबाट हुने टाइफस खतरनाक रोगमध्येको एक मानिने बेनी अस्पतालका सूचना अधिकारी सुवेदीले बताउनुभयो । बेनी नगरपालिका–९, का २ जना, मङ्गला–५, का एक जना र बेनी नगरपालिका–६, छापका एक जनामा स्क्रबटाइफस भेटिएको हो ।
उच्च ज्वरो आउने, शरीर दुख्ने, शरीरमा दागहरू आउनेजस्ता समस्याहरू देखिने स्क्रबटाइफसको समयमै उपचार हुन नसकेमा ज्यानै जाने सम्मको जोखिम हुने बेनी अस्पतालका डा. घिमिरेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?