logo
२०८१ मंसिर १० सोमवार



बाँके र बर्दियामा ४० सङ्क्रमित थपिए

स्वास्थ्य |
प्रदेश |


बाँके र बर्दियामा ४० सङ्क्रमित थपिए


सिराज खान/गोविन्द शर्मा
नेपालगञ्ज, जेठ २४ गते । बाँके र बर्दियाका ४० जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२ र बर्दियाका २८ जना गरेर ४० जनाका कोरोना सङ्क्रमण रहेको पुष्टि भएको जनाएको छ ।
अस्पतालका अनुसार नेपालगञ्ज–१ का ४१ वर्षिय एक महिला, बाँकेको खजुरा गाउँपालिकाका वडा नं–४ का छ महिला र एक पुरुष तथा वडा नं–५ का एक महिला गरेर ८ जना, बैजनाथ गाउँपालिका वडा न–२ का एक जना महिला र वडा न–६ का दुई जना महिला रहेका छन् ।

शनिबार थपिएका १२ जनासँगै बाँकेमा कुल सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । ती मध्ये एकजनाको मृत्यु भैसकेको छ भने ४३ जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका–२ का ए जना, ६ का एक र ९ का तीन जना, बढैयाताल गाउँपालिका–६ का एक जना र ७ का दुई जना, गुलरिया नगरपालिकाका–३ का नाै जना, ६ का एक जना र १० का एक जना, मधुवन नगरपालिका–२ का दुई जना र ५ का दुई जना र राजापुर नगरपालिका–८ का दुई जना र १० का तीन जना गरेर २८ जना रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो । शनिबार दुवै जिल्लामा गरेर भेटिएका ४० जना सङ्क्रमितहरूमा तीन जना महिला र ३७ जना पुरुष रहेका छन् ।

सङ्क्रमितहरूमा तीन वर्षदेखि ६० वर्षसम्मका महिला पुरुषहरू रहेको अस्पतालले जनाएको छ ।


नर्स र पत्रकार निको भएर घर फर्किंदै
यसैबिच बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर आइसोलेसन अस्पतालमा भर्ना हुनुभएका नेपालगञ्जका एक जना नर्स र एक जना पत्रकार निको भएर शनिबार घर फर्कंदै हुनुहुन्छ ।
स्वास्थ्य कार्यालय, बाँकेले दिएको जानकारी अनुसार उहाँहरू दुवै श्रीमान श्रीमती रहेको दुई पटक रिपोर्ट नगेटिभ आएपछि शनिबार घर फिर्ता गर्न लागिएको हो ।
यसअघि शुक्रबार र बिहीबार गरेर बाँकेका १३ जना सङ्क्रमितहरूले कोरोनालाई जितेर घर फर्किनुभएको थियो । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या बाँकेमा ४३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?