गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २४ गते । विश्व स्वास्थ्य सङ्गठनले स्वस्थ मानिसका लागि मास्क लगाउने निर्देशिका परिमार्जन गरेको छ । सङ्गठनले सर्वसाधारणलाई विशेष समयमा मात्रै मास्क लगाउन सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको नयाँ निर्देशिकाले सामाजिक दूरी बनाउन समस्या हुने भिडभाड, पसल र सार्वजनिक यातायातमा स्वस्थ्य मानिसले मास्क लगाउन सुझाएको छ । त्यस्तो मास्क श्वास लिन योग्य तीन तहको हुनुपर्ने स्वास्थ्य सङ्गठनले जनाएको छ । स्वस्थ्य मानिसले मास्क लगाउँदा सङ्क्रमण रोक्नेबारे कुनै वैज्ञानिक वा प्रमाणिक कारण स्पष्ट भइसकेको छैन् । यद्यपि मास्क लगाउँदा सङ्क्रमण सर्ने सम्भावित जोखिम न्यूनीकरण हुने विश्वास गरिएको छ ।
स्वास्थ्य अवस्था जटिल हुने ६० वर्षभन्दा माथिको उमेरका वृद्धले आफूलाई सुरक्षित राख्न सामान्य अवस्थामा पनि मेडिकल मास्क लगाउन सुझाइएको छ । मास्क लगाए नलगाए पनि मानिसले भिडभाड बनाउन नहुने, कम्तिमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने, साबुन पानीले नियमित हात धुनुपर्ने, हाछयुँ गर्दा नाक र मुख ‘टिस्यु’ कागजले छोप्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।