logo
२०८१ मंसिर १० सोमवार



सङ्क्रमित गर्भवती महिलाको शल्यक्रिया सफल, अस्पताल भोलिदेखि सुचारु

स्वास्थ्य |
प्रदेश |


सङ्क्रमित गर्भवती महिलाको शल्यक्रिया सफल, अस्पताल भोलिदेखि सुचारु


सिराज खान
नेपालगञ्ज, जेठ २७ गते । अछाम जिल्ला, बयलपाटा अस्पतालबाट रिफर भई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज अस्पतालमा भर्ना गरिएकी गर्भवती कोरोना सङ्क्रमित २५ वर्षीय महिलाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालका सहनिर्देशक डा. नितेषकुमार कनोडियाले दिनुभएको जानकारी अनुसार अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी १८ हप्ताकी गर्भवतीसमेत रहनुभएकी ती महिलाको आन्द्रा बेरिएकोले मङ्गलबार दिउँसो आन्द्राको सफल शल्यक्रिया गरिएको बताउनुभयो ।
ती महिलाको शल्यक्रिया डा. प्रदीप थापा, डा. आशिष भट्टलगायतको टोलीले गरेको पनि कोहलपुर अस्पतालका सहनिर्देशक कनोडियाले बताउनुभयो । महिलाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
अछामको बयलपाटा अस्पतालमा उहाँको अवस्था बिग्रिएपछि सोमबार उहाँलाई हेलिकोप्टरबाट कोहलपुर पुर्याइएको थियो । ती महिला भारतबाट आएको र क्यारेन्टाइनमा रहेकोले उहाँको काेराेना परीक्षण गरिएकोमा रिपोर्ट पोजिटिभ आएको थियो ।
उहाँको रिपोर्ट पोजिटिभ आएपछि मेडिकल कलेजको कोहलपुर अस्पतालको बहिरङ्ग विभाग र आपातकालीन कक्षलाई सोमबार रातीदेखि नै सिल गरिएको थियो ।
अस्पतालले मङ्गलबार बिहान एक विज्ञप्ति प्रकाशित गरेर कोरोना पोजिटिभ महिलाको आपतकालीन शल्यक्रिया गर्नुपर्ने भएकाले आन्तरिक व्यवस्थापनका लागि एक दिन मात्र कोहलपुर अस्पतालको सम्पूर्ण बहिरङ्ग सेवा र आकस्मिक सेवा बन्द गरिएको जनाएको थियो ।
बुधबारदेखि सुरक्षित साथ अस्पतालका सबै सेवाहरू सुचारु गरिने पनि उक्त विज्ञप्तिमा उल्लेख गरिएको थियो । अस्पतालले केही बेरमै अर्को विज्ञप्ति निकाल्नेसमेत सहनिर्देशक कनोडियाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?