नेत्र शाही
जुम्ला, जेठ २७ गते । जुम्लामा कोरोना सङ्क्रमित १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसीयूमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि घर फर्किएका हुन् ।
प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनीहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायब उपरीक्षक लालबहादुर धामीलगायत सरोकारवाला निकायले माला लगाइदिएर बिदाइ गर्नुभएकाे हाे ।
उनीहरूलाई घर फर्किएपछि घरमा अपनाउनुपर्ने सावधानीका लागि ध्यान दिन प्रतिष्ठानका विशेषज्ञ डा. धिरज गुरुङले सुझाव दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले घर फर्किएका सबैलाई बधाई दिँदै अझै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई इतिहासले नायक बनाउने भन्दै हौसला दिनुभयो । प्रतिष्ठानमा अन्य सङ्क्रमितको पुनः पीसीआर परीक्षणको आधारमा घर पठाइने प्रतिष्ठानले जनाएको छ ।