logo
२०८१ मंसिर १० सोमवार



एम्बुलेन्स चालक र क्वारेन्टाइनमा खटिएका पाँच स्वास्थ्यकर्मी पनि सङ्क्रमित

स्वास्थ्य |


एम्बुलेन्स चालक र क्वारेन्टाइनमा खटिएका पाँच स्वास्थ्यकर्मी पनि सङ्क्रमित



दिपकप्रसाद गौतम
वीरगञ्ज, जेठ ३२ गते । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकालाई अस्पतालसम्म पुर्याउने, क्वारेन्टाइनसम्म स्वाब सङ्कलन गर्न जाने स्वास्थ्यकर्मीलाई ओसार्ने एम्बुलेन्सका चालकलाई कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । त्यति मात्र नभई पर्साको पोखरिया नगरपालिकामा रहेको क्वारेन्टाइनमा खटिएका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना रहेको पुष्टि भएको छ ।

पर्साको पोखरिया नगरपालिका वडा नं. १ का ३५ वर्षीय एम्बुलेन्सका चालककाे  आइतबार वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएको हो ।  त्यस्तै २५ वर्षीय एक हेल्थ असिस्टेन्ट, ४५, ३० र ३४ वर्षीय तीन जना अहेब, ३२ वर्षीय एक जना अनमी गरी पाँच जना स्वास्थ्यकर्मीलाई आइतबार वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पर्साको वैरियाविर्ता, सिवर्वा, सिर्सिया लम्हरियालगायत स्वास्थ्यचौकीमा कार्यरत ती सङ्क्रमण देखिएका स्वास्थ्यकर्मीहरूले क्वारेन्टाइनमा डयुटी गर्ने पालो नपरेको दिन स्वास्थ्यचौकीमा गएर बिरामी जाँच गरेकाले सङ्क्रमण फैलिन सक्ने खतरा बढेको छ ।

सङ्क्रमण पुष्टि भएकी वीरगञ्जमा घर भएकी ३२ वर्षीय अनमिको साथमा चार वर्षको छोरा छन् भने उहाँका पति कविराज हुनुहुन्छ ।

पोखरियाको स्कूलमा रहेको क्वारेन्टाइनमा रहेका पाँचजना भारतबाट आएका शङ्कास्पद सङ्क्रमित र पाँच जना स्वास्थ्यकर्मी, एक एम्बुलेन्स चालकसहित १० जना, बिन्दवासिनी गाउँपालिकाको झौवा क्वारेन्टाइनमा रहेका दुई जना, जिराभवानी र धोबिनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक/एक जना, पर्सागढी नगरपालिकाका एक जना र पर्टेर्वा सुगौली गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुई जना गरी १७ जनामा आइतबार सङ्क्रमण पुष्टि भएको हो ।

तीन जना महिला र १४ जना पुरुष गरी १७ जना नयाँ थपिएका सङ्क्रमितहरूमा अधिकांश भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रहेको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो ।

नयाँ पुष्टि भएका सबै सङ्क्रमितलाई वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा ल्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । आइतबार १७ जना नयाँ सङ्क्रमित थपिएसँगै पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या १४३ पुगेको छ । पर्सा जिल्लामा हालसम्म पाँच हजार १३ जनाको स्वाब सङ्कलन गरिएको र त्यसमध्ये ३४६ स्वाबको परीक्षण रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?