उमेश ओझा
अहिले जनजिब्रोमा झुन्डिएको एउटै प्रश्न छ– यो कोभिड–१९ सर्वमहामारी कहिले सकिन्छ ? यस प्रश्न लक्षित कैयौँ विचार निरन्तर अभिव्यक्त भइरहेको छ । अनुसन्धानमा आधारित विश्लेषणले अभैm एक÷दुई वर्ष हामीले यसैसँग जीवनमृत्युको सङ्घर्ष गर्नुपर्ने भनेको छ । यो विश्लेषण मूलभूत रूपमा रोगको प्रभावकारी उपचार विधिको खोजमा लागेको चिकित्सा विज्ञानको तर्कमा आधारित छ ।
तर विगतका सर्वमहामारी र महामारीबाट जसरी उन्मुक्ति पाइएको थियो त्यसका आधारमा सामाजिक गतिविधिमा भरोसा राख्नेहरू पनि छन् । उनीहरूको मान्यता छ मानिसले हजारौँ वर्षदेखि यस प्रकारका रोगसँग लड्दै आएको छ र आधुनिक चिकित्सा विधिको विकास हुनु पहिले सामाजिक कारणले नै महामारीबाट मानव सभ्यताले मुक्ति पाएको थियो । अर्थात् हामीले कोभिड–१९ सँगै बाँच्न जान्नुपर्छ– कम्तीमा चाल्र्स डार्बिनको सिद्धान्तले यही भन्छ ।
प्रसिद्ध जीव वैज्ञानिक डार्बिनले भनेका थिए, “प्रकृतिसँग जो अनुकूल हुन सक्छ उही बाँच्छ । यही नै पृथ्वीमा जीव विकासको आधार हो ।” मानवका अगाडि कोभिड–१९ मा आएको होइन यसअधि प्लेग, बिफर, इबोला, इन्फ्लुएन्जा, हैजा, औलोलगायतका रोगले करोडौँको ज्यान लिइसकेका छन् । प्लेगले त बस्तीका बस्ती नै नाश भएका थिए, औलोले अभैm पनि बर्सेनि लाखौँ मानिस मरिरहेका छन् तर मानिसले हार मानेको छैन, रोगसँग लडेकै छ । कतिपय रोग आउँछ्न जान्छन्, मानिसको दिनचर्या पुनः सुरु हुन्छ र नयाँ दिनले विगतलाई बिर्साउँछ । यस्तै भएको छ । मध्यकालमा प्लेग र प्रथम विश्वयुद्धताकाको स्पेनी फ्लुले सिर्जना गरेको मानवीय अवस्था अहिलेको भन्दा डरलाग्दो थियो, करोडौँ मानिसको ज्यान ती रोगले लिए तर खै त मानवजाति सर्वनाश भएको ? समयकालले मानिसको शरीरलाई पनि रोगसँग लड्न सिकाउँछ ।
पृथ्वीका प्राणीको विकास नै यसरी भएको छ । भूगोलको कुनै स्थान विशेष, तापक्रम, जात, जाति तथा कतिपय अवस्थामा मानिसको उमेर समूहले र रोगसँग बारम्बार लडाइँ गर्दा शरीरमा विकास हुने प्रतिरोधी क्षमताले हामीलाई आजको अवस्थासम्म ल्याइपु¥याएको हो । उदाहरणका रूपमा हामी तराईका थारू समुदाय र जङ्गलमा बसोबास गर्ने राउटे समुदायलाई लिन सक्छौँ । अनुसन्धानले के देखाएको छ भने थारू समुदायका सदस्यमा औलोसँग लड्ने क्षमता अरू समुदायका सदस्यभन्दा सात गुणा बढी छ । औलोले राउटेको ज्यान जोखिममा पर्दैन, उनीहरूलाई एक÷दुई दिन ज्वरो आउला तर औलो हारेर जान्छ ।
यस कारण अहिले विगतका सर्वमहामारी र महामारीसँग लडेको पाठ पढेर हामीले कोरोना भाइरसको सर्वमहामारीबाट राहत पाउन सक्छौँ । चिकित्सा विज्ञानले कोभिड–१९ को प्रभावकारी उपचारका लागि व्यापक स्तरमा प्रयास गरिरहेकै छ र कुनै दिन औषधि आउला त ? हामीले बुझ्नु पर्ने कुरा के छ भने भाइरसमा नियमित उत्परिवर्तन भइरहन्छ र नौलो भाइरस बन्छ । अहिलेको कोरोना भाइरसलाई लक्षित गरेर भविष्यमा औषधि बनाइए पनि पछि उत्परिवर्तनले नयाँ भाइरस बन्यो भने त्यही औषधि बेक्म्मा हुनसक्छ ।
यस कारण सर्वमहामारी नियन्त्रणमा सामाजिक भूमिकाका पक्षधरहरूले कोभिड–१९ बाट पार पाउन औषधि कुर्नु भन्दा पनि दैनिकीमा सामाजिक दूरी बनाउने, आपसी अन्तरसंवाद जारी राख्ने, सामाजिक भावना जागृत बनाउने र अन्तर्राष्ट्रिय सहयोगको निरन्तरतालाई सबैभन्दा प्रभावकारी उपाय मानेका छन् ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा सर्वप्रथम कोरोना भाइरसको सङ्क्रमण देखिएर जनजीवन प्रभावित भए पनि विश्व स्वास्थ्य सङ्गठनले गत मार्च ११ मा कोरोना भाइरस महामारीलाई सर्वमहामारी घोषणा गरेको थियो । अर्थात् कोरोना भाइरसको सङ्क्रमण चीनमा मात्र सीमित छैन र विश्वव्यापी भयो । यसअघि स्वाइन फ्लु भनिएको एच१एन१ लाई सन् २००९ मा सर्वमहामारी घोषणा गरिएको थियो । त्यसयता स्वाइन फ्लुका कारण विश्वमा करिब छ लाख मानिसको मृत्यु भइसकेको अनुमान अमेरिकाको सेन्टर फर डिजिज एन्ड कन्ट्रोल प्रिभेन्सनको छ । यति धेरै मानिसको ज्यान लिइसकेको स्वाइन फ्लुलाई विश्व स्वास्थ्य सङ्गठनले अहिले मौसमी रुघाखोकीमा वर्गीकृत गरेको छ ।
भन्नुको तात्पर्य के हो भने कुनै दिन पक्कै पनि कोभिड–१९ लाई पनि यसरी नै वर्गीकृत गरिने छ । कोभिड–१९ रोग समुदायमै रहला तर जनजीवन त्यसका कारण त्रसित भएर अहिलेको जसरी ढोका बन्द गरेर चल्ने छैन ।
हो पक्कै पनि कोभिड–१९ का कारण संसारको दिशा फेरिएको छ, प्रतिस्पर्धा र अहङ्कारले ढाकेको वास्तविकता छर्लङ्ग भएको छ तथा सबै मानिस एकै जस्ता लाग्न थालेको छ, को धनी, को गरिब, को बलियो, को कमजोर सबैको दशा अहिले एउटै छ । सबै चिनिएका छन् । यस अर्थमा त कोरोनाको प्रभाव सकारात्मक मान्न सकिन्छ तर शैली फरक प¥यो । कोरोना भाइरसको सङ्क्रमणले मानिसको ज्यान लिइरहेको छ, सबैको अर्थतन्त्र धराशयी भएर करोडौँ मानिस बेरोजगार भएका छन्, अस्पतालले बिरामी थेग्न सकिरहेका छैनन्, सबै सरकारको एउटा ध्यानमा मात्र कोरोना छ, विकास निर्माण र अन्य सामाजिक कार्य तपसिलमा परेका छन् ।
सबैभन्दा महìवपूर्ण कुरा यस रोगको डर र आयआर्जनको अभावमा छाक टार्न समेत समस्या आउँदा सुरु भएको अपूर्व प्रवासन डरलाग्दो र अनियन्त्रित छ । कसैलाई आफ्नो घर जान पाइँदैन भनेर रोक्न पनि त सकिन्न । छिमेकी भारतमा प्रवासनको यस्तो लहर चलेको छ जसका अगाडि त्यहाँको प्रशासन निरीह देखिन्छ ।
लाखौँ मानिस सयौँ किलोमिटर पैदल हिँडेर जसरी भारतका विभिन्न क्षेत्रबाट आफ्नो घरतिर लागेका छन् वा हिँडिरेहका छन् त्यसले विश्व इतिहासको ग्रेट माइग्रेसनको झझल्को दिन्छ । अमेरिकामा ६० लाख अश्वेत दक्षिण क्षेत्रबाट मध्य र उत्तरी क्षेत्रमा पलायन भएको त्यो ग्रेट माइग्रेसनको घटना भारतमा जसरी एक÷दुई महिनामा भएको थिएन, सन् १९१६ देखि १९७० सम्म ५४ वर्षको अवधिमा भएको थियो । अमेरिकी अश्वेतहरू कुनै रोगले भागेका थिएनन्, रोजगारी र सहज जीवनयापनका लागि पलायन भएका थिए । भारतमा त रोगले सिर्जना गरेको बेरोजगारी, भोक, डर, अन्याय र अनिश्चितताले प्रवासनको समस्या ल्याएको हो र त्यसमा केही सङ्ख्यामा नेपाली पनि छन् ।
भारतभित्रको प्रवासनले कोभिड–१९ को सङ्क्रमण समेत अनियन्त्रित बनाइरहेको छ । जसका कारण नेपालमा समेत एकाएक कोभिड–१९ का सङ्क्रमित बढेका छन् ।
विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ७५ लाखको नजिक छ र यस रोगका कारण मर्नेको सङ्ख्या करिब साढेचार लाख । नेपालमा समेत सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । तथापि मर्नेहरू तुलनात्मक रूपमा कम छन् । यस अवस्थामा सबैको आशा खोप र औषधि आउनेमा छ । तर यस विषम परिस्थितिमा विश्वमा खोप र औषधि तयार पार्नमा होडबाजी नै चलेको छ । दिनदिनै आशा लाग्दा समाचार आउँछन् तर यस दौडमा को अगाडि पर्ने भन्दै स–साना सकारात्मक नतिजा र अपूर्ण परीक्षणका नतिजा सार्वजनिक गरिँदा भोलिपल्टै निराशको बादल छाउने गरेको छ । वैज्ञानिक पनि निश्चिन्त छैनन्– खोप र औषधि कहिलेसम्म तयार हुन्छ भनेर । यही भएर कसैले छ महिना, कसैले एक वर्ष त कसैले दुई वर्ष लाग्छ भन्दै छन् र कोभिड–१९ को प्रभावकारी उपचारका लागि कहिल्यै पनि औषधि नआउने विचार राख्ने कित्ता पनि छ ।
अनि यस्तो रनभुल्लमा अब के गर्ने ? कुरा उही आउँछ विगतको अनुभव यसपटक पनि प्रयोग गर्नुपर्छ । अर्थात् जसरी स्पेनी फ्लु, प्लेगलाई मात दिइयो र औलोसँगै दिनचर्या चलिरहेको छ त्यसरी नै कोभिड–१९ लाई पनि स्वीकार्ने । प्रश्न उठ्छ के यसो गर्न सम्भव छ ? पक्कै पनि सम्भव छ । यसको स्पष्ट र आशालाग्दो प्रमाण हो कोभिड–१९ सङ्क्रमित सबै जनाको मृत्यु नहुनु र मृत्युदर कम हुनु । विश्वमा लगभग ३० लाख सङ्क्रमितले कोभिड–१९ लाई जितिसकेका छन् । अनि सङ्क्रमित, मर्ने र निको हुने जुन दर छ त्यो स्पष्ट रूपमा डार्बिनको ‘सर्भाइभल अफ दि फिटेस्ट’ सिद्धान्त अनुरूप नै छ । स्वस्थ, बलिया र पोषिलो आहारा खाने तथा कोरोना भाइरसको बारम्बारको प्रहारबाट परै रहनेहरू सुरक्षित छन् । उमेरले कमजोर परेका, कुनै रोगले पहिले नै जीर्ण भएका, कुपोषित तथा अस्वस्थ जीवनयापन गर्नेमा कोभिड–१९ ले बज्रपात गरेको छ ।
यसको डोरी कहाँ जोडिन्छ भने जसको शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो छ ऊ कोभिड–१९ सँग लड्न पनि सक्षम छ । उसलाई हत्पत्त रोगले समात्न सक्दैन । यसको अर्थ कसैले बलियो छु, स्वस्थ छु र पोषिलो आहारा खान्छु भनेर घर बाहिर निस्केर आफूलाई सङ्क्रमणको जोखिमा पार्नुपर्छ भन्ने होइन । बारम्बार भाइरसले शरीरमा सङ्क्रमण गर्ने अवसर पायो भने जस्तोसुकै बलियो मानिस पनि थला पर्छ ।
सय वर्ष पहिलेको स्पेनी इन्फ्लुएन्जा कुनै औषधि विकास गरिएर हराएको थिएन । त्यसमा मूलभूत रूपमा दुई प्रमुख कारण थिए । पहिलो थियो सामाजिक गतिविधि र दोस्रो थियो भाइरस आफैैँ कमजोर परेर जानु । सामाजिक गतिविधिमा रोगबाट बच्नका लागि अहिले जसरी लकडाउनका नाममा घरमै रहन र सरसफाइमा ध्यान दिन भनिएको छ त्यसरी नै गरिने स्वप्रयास पर्छ । त्यति गर्दा पनि भएन भने आफ्नो दैनिकीमा फर्केर मानिस चलायमान हुँदा विस्तारै मानिसमा रोगसँग लड्ने प्रतिरोधी क्षमता विकास हुन्छ । स्पेनी फ्लुका बेला यी दुवै खालका सामाजिक कार्य भए । प्रथम विश्वयुद्धले एकातिर मानिसलाई चलायमान बनाइराख्यो भने अर्कोतिर स्वप्रयासले पनि काम ग¥यो । मौसममा आएको परिवर्तनले भाइरस कमजोर भएर जानु पनि सर्वमहामारी हराउनुको अर्को कारण थियो ।
अहिलेको अवस्था अलि फरक छ । पहिलो, सय वर्ष पहिलेको जस्तो प्रकृतिको साथ मानिसलाई छैन । विश्वव्यापी तापक्रम वृद्धिले भाइरसलाई साथ मिलेको अनुमान गर्न सकिन्छ किनभने गर्मीयाम सुरु भएपछि कोरोना भाइरस कमजोर पर्ने अड्कल गरिएको थियो, नतिजा हाम्रो सामु छ । दोस्रो, सय वर्ष पहिलेको जस्तो स्वस्थ आहारा अहिले छैन । हृष्टपुष्ट देखिए पनि प्रशोधित र रसायनले प्रदूषित वस्तु खाएर मानिस भित्रबाट कमजोर छन् । कम उमेरमै उच्च रक्तचाप, मधुमेह, क्यान्सरका रोगीको सङ्ख्या बढी छ । औषधिका कारण बूढापाकाको सङ्ख्या धेरै भएकाले रोगले हताहत हुने बढ्न सक्छन् । स्पेनी इन्फ्लुएन्जाले युवालाई धेरै ग्रस्त पारेका स्वभाविक रूपमा मर्नेको सङ्ख्या धेरै थियो ।
तेस्रो र सबैभन्दा महìवपूर्ण कारण हो कोरोना भाइरस स्पेनी फ्लु जस्तो इन्फ्लुएन्जा होइन र यस रोगक बारेमा वैज्ञानिक र चिकित्सकलाई समेत धेरै थाहा छैन । हरेक दिन कोभिड–१९ का नयाँ नयाँ कुरा बाहिर आइरहेका छन्, आजको तथ्यलाई भोलिको तथ्यले काटिरहेको छ । सबैतिर अन्योल छ । वैज्ञानिकदेखि आममानिससम्म सबै विमूढ । यसअघिका सबै सर्वमहामारी र महामारी यात इन्फ्लुएन्जा भाइरसको कुनै प्रजातिले वा प्लेगका ब्याक्टेरिया वा बिफरका भाइरसले गर्दा भएका थिए । तीनका स्रोत पनि पत्ता लागेका छन् र औषधि पनि छन् । तर कोभिड–१९ रोगको नोभल कोरोना भाइरसको स्रोत यकिन भएको छैन, तथापि यो चमेरोबाट आएको भनिएको छ । यसैले यो भाइरस आफै कहिले कमजोर पर्ने हो वा यसलाई कुन ऋतु प्रतिकूल हुने हो थाहा छैन । छ महिना हुँदा पनि यसको वेगमा कुनै कमी नहाउनुले समस्या अझै गम्भीर नै हुने देखिन्छ ।
अहिलेसम्मका सबै प्रयासले न त कोरोना भाइरसको प्रसार रोकिएको छ न त यो आफैैँ कमजोर परेको छ र यसलाई मौसम परिवर्तनले पनि कुनै असर पारेको छैन ।
यसैले अहिलेको अवस्था डराउने होइन, बेलैमा सचेत हुने अनि भावी सङ्कटका लागि तयार रहने हो । हामी मात्र होइन सारा संसार यस समस्याबाट आक्रान्त छ र सबै शक्तिशाली लाग्ने अमेरिकी जस्ता देश र विकासको चरम चुलीमा पुगेको जस्तो देखिने युरोपेली क्षेत्र सबै कोभिड–१९ का अगाडि नतमस्तक भएका छन् ।
शरीरमा प्रभाव
कोभिड–१९ मौसमी रुघाखोकीभन्दा बेग्लै समस्या हो, तथापि यसका केही लक्षण रुघाखोकीसँग मिल्छन् । लक्षण देखापर्नु पहिले नै कोभिड–१९ सर्ने गर्छ । हाम्रो शरीरको एन्जियोटेन्सन कन्भर्टिङ एन्जाइम–२ (एसीई–२) रिसेप्टरले कोरोना भाइरसलाई प्रवेश गराउन सहयोगी भूमिका खेल्छ । जुन रिसेप्टरको सम्बन्ध रक्तचापसँग छ ।
शरीरमा यस रिसेप्टरको मुख्य काम भनेको रक्तचाप र इलेक्ट्रोलाइट नियन्त्रण गर्ने हो । यी रिसेप्टर शरीरको फोक्सो, घाँटीको पछाडि, आन्द्रा, मुटुको मांसपेशी र मिर्गौलामा समेत पाइन्छन् । नाकमा समेत यी रिसेप्टर रहेको पत्ता लागेको छ ।
सन् २००४ को एउटा अनुसन्धानले एसीई–२ रिसेप्टर नाकका कोषका सतहमा समेत हुने समेत जानकारी दिएको थियो । हालसालै मुख र जिब्रोमा समेत एसीई–२ रिसेप्टर पत्ता लगाइएकाले कोरोना भाइरसले यी माध्यमबाट समेत शरीरमा प्रवेश गर्न सक्ने देखिन्छ ।
कोभिड–१९ ले सङ्क्रमित करिब १४ प्रतिशत रोगीको अवस्था गम्भीर हुने र उनीहरूलाई सास लिन गाह्रो भएका कारण अस्पताल भर्ना गर्नुपर्ने देखिएको छ । तीमध्ये ७५ प्रतिशतलाई निमोनिया हुन्छ ।
कोभिड–१९ मा देखापर्ने निमोनिया कडा खालको हुने भएकाले फोक्सोले काम गर्न छोड्छ ।
एकपटक कोषमा प्रवेश गरेपछि भाइरसका वंशाणु तìवले कोषलाई लाखौँ लाख आफ्ना प्रतिरूप बनाउन निर्देशित गर्छन् । आरएनएमा आधारित भएका कारण नोभल कोरोना भाइरसले हाम्रो कोषलाई अपहरित गर्न धेरै समय लगाउँदैन ।
अनुसन्धानबाट देखिएको छ हाम्रो माथिल्लो श्वासप्रश्वास प्रणालीमा सङ्क्रमणको प्रथम पाँच दिनको स्वाब (खकार, थुक, ¥याल)को प्रति नमुनामा भाइरसका छ लाख ७६ हजार प्रतिलिपि हुन्छन् । अनुमान लगाउन सक्छौँ जब तल्लो श्वासप्रश्वास प्रणालीमा कोरोना पुग्दा सङ्क्रणको अवस्था कस्तो हुुन्छ होला । मुख्य रूपमा भाइरसको पुनरावृत्ति माथिल्लो श्वासप्रश्वास प्रणालीमै हुने देखिएको छ ।
फोक्सोमा एसीई–२ रिसेप्टर फोक्सोका कोष न्युमोसाइट्सको माथिल्लो भागमा बसेका हुन्छन् । फोक्सोभित्र रहने हावाका थैली अल्भिओलाईका आवरण (सर्पेmक्टेन्ट) उत्पादनमा यी कोषको महìवपूर्ण भूमिका रहन्छ । अल्भिओलाईले अक्सिजन रगतमा
पठाउने र रगतबाट कार्बनडाइअक्साइड ग्यास बाहिर निकाल्ने काम गर्छन् ।
हाम्रो शरीरमा जसै अपरिचित प्रोटिनको प्रवेश भएको सङ्केत मिल्छ प्रतिरक्षा प्रणाली सक्रिय बन्छ । शरीरको प्रतिरक्षा प्रणालीको प्रतिक्रियामा लिम्फोसाइटहरूले तत्कालको सुरक्षा कवचका रूपमा आईजीएम–टाइप एन्टिबडी र दीर्घकालका लागि विशेषखालको न्युट्रलाइजिङ एन्टिबडी (आईजीजी–टाइप) उत्पादन गर्छन् ।
अहिले कोभिड–१९ को सङ्क्रमणको अवस्थामा ५० प्रतिशत रोगीमा सातौँ दिनमा गएर आईजीएम वा आईजीजी एन्टिबडी उत्पादन हुने तथा १४ दिनपछि ती दुवै एन्टिबडी शरीरमा सक्रिय भएका हुने अनुसन्धानबाट देखिएको छ ।
कोभिड–१९ सङ्क्रमणमा रोगीको अवस्था १०औँ दिनपछि अत्यन्त बिग्रन सक्छ । केही मानिसमा त एकाएक अवस्था बिग्रिएको पनि छ ।
न्युमोसाइट कोषमा भाइरसको आक्रमणका कारणले अल्भिओलाईमा सर्पेmक्टेन्टको न्यून मात्रा भएर फोक्सो अल्भिओलाईलाई खोल्न असमर्थ हुन्छ । जस कारण शरीरमा अक्सिजनको आपूर्ति रोकिन्छ ।
प्रतिरक्षा प्रणालीको प्रतिक्रियाका कारण अल्भिओलाईमा न्युट्रोफिल्स र माइक्रोफेज्स जस्ता सेता रक्तकोषको प्रवाह बढ्छ । यसबीचमा सेता रक्तकोषले निकालेका रसायनप्रति प्रतिक्रिया देखाउँदा अल्भिओलाई वरिपरिका रक्तनली चुहिन थाल्छन् ।
यसरी चुहिएको द्रवले बाहिरबाट अल्भिओलाईमाथि दबाब बढाउँछ र अर्कोतिर आवरण सुदृढ राख्ने सर्पेmक्टेन्टको पनि कमी भएकाले भार थेग्न नसकेर अल्भिओलाईले काम गर्न छाड्छन् । जसको नतिजा रोगीलाई सास लिन गाह्रो हुन थाल्छ र फोक्सोभित्र अक्सिजन स्थानान्तर गर्ने स्थान क्रमशः घट्दै गएर रोगीको सास नै बन्द हुन्छ ।
अशक्तलाई समस्या
रोगले अशक्त परेका मानिसको शरीरमा नोभल कोरोना भाइरस तीन हप्तासम्म रहन सक्ने जानकारी चिनियाँ अनुसन्धानकर्ताले दिएका छन् ।
चीनको झेचियाङ प्रान्तको एक अस्पतालको अनुसन्धान टोलीका अनुसार रोगीको फोक्सोको भित्री तहमा र दिसामा भाइरस पहिले सोचिएभन्दा बढी समयसम्म पाइएको छ । तर रोगीको पिसाबमा त्यसको आधा समयजति मात्र रहने बताइएको छ ।
यस अनुसन्धानले के पनि जनाएको छ भने महिलाको शरीरभन्दा पुरुषको शरीरमा भाइरस बढी समय रहन्छ । महिला र पुरुषको शरीरमा हुने हर्मोनको स्तर भिन्नताका कारणले गर्दा यसो भएको अनुमान गरिएको छ । á
प्रतिरक्षा प्रणालीमा सहयोगी तत्त्व
भिटामिन सी
अमिला फलफूल तथा ब्रोकाउली, पालुङ्गो, गाँजर र अमलामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ ।
भिटामिन ए
गाँजर, फर्सी, मेवा आदि भिटामिन ए का मुख्य स्रोत हुन् ।
भिटामिन ई
गेडागुडी, बदाम, सूर्यमुखीका बीउ, पिस्ता, फर्सीको बीउ, कटुस र काजु भिटामिन ईका प्रमुख स्रोत हुन् ।
फोलेट
ब्रोकाउली, एभोकादो, गेडागुडी, कन्दमूल, हरिया सागपात खाएर यो भिटामिन प्राप्त गर्न सक्छौँ ।
जिङ्क
माछामासु, गेडागुडी, सिमी, अप्रशोधित चिज, काँचो दूध र सादा दही जिङ्कका मुख्य स्रोत हुन् ।
फलाम
माछा, मासु, गेडागुडी, सागपात, काजु, ब्रोकाउली, जौ, बदाम आदि फलामका मुख्य स्रोत हुन् ।
भिटामिन डी
खाद्यवस्तुमा भिटामिन डी बिरलै पाइन्छ र यसको मुख्य स्रोत भनेको घाम नै हो तर अन्डा, काँचो दूध, साल्मन माछा, जौ आदिमा केही मात्रामा भिटामिन डी पाइन्छ ।
सेलेनियम
गेडागुडी, सिमी, तेलीय माछा, अप्रशोधित दुग्ध पदार्थ, फलफूल, सादा दही, जौ, च्याउ आदिमा सेलेनियम पाइन्छ ।
युवामञ्च असार २०७७