logo
२०८१ मंसिर १० सोमवार



सङ्क्रमणबाट बच्ने उपायः सन्तुलित खानपान र अनुशासित जीवनशैली

स्वास्थ्य |


सङ्क्रमणबाट बच्ने उपायः सन्तुलित खानपान र अनुशासित जीवनशैली


केशवराज पौडेल
काठमाडौँ, असार ४ गते । कोरोना र यस्ता सङ्क्रमणबाट जोगिन खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने आर्युवेद चिकित्सक मनोजकुमार चौधरीले बताउनुभएको छ । उहाँले भोकको आभास भएपछि मात्रै खानेकुरा खान उपयुक्त रहेका बताउनुभयो । आयुर्वेदले खानपान एवम् जीवनशैलीमा सामान्य परिवर्तनले पनि रोगलाई निर्मूल पार्ने उपाय बताउने भएकाले मानव जीवनमा अनुशासन कायम गराउने उहाँले बताउनुभयो ।
गर्मीको समयमा कोरोनाजस्ता सङ्क्रमणबाट जोगिन बेल, उखु, कागतीको सर्बत नियमित रुपमा सेवन गर्न आवश्यक रहेको बनेपा आयुर्वदिक कार्यालयका प्रमुखसमेत रहनुभएका डा. चौधरीले बताउनुभयो । आयुर्वेदिक औषधि वनस्पति एवम् खनिज द्रव्यबाट निर्मित भएको तथा यसको उपचार विधि प्राकृतिक भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर नपार्ने उहाँले बताउनुभयो ।
आयुर्वेदले खानपान एवम् जीवनशैलीमा सामान्य परिवर्तनद्वारा रोगलाई निर्मूल पार्न सकिने उपाय बताएको डा. मनोकुमार चौधरीको भनाइ छ । उहाँका अनुसार आयुर्वेद चिकित्सामा हाम्रा वरिपरि सजिलै पाइने जडीबुटी एवम् घरायसी मसला प्रयोग गरिने हुनाले यो अपेक्षाकृत सस्तो र यसको प्रयोग पनि सजिलो छ ।
सङ्क्रमण रोक्न आहार, निद्रा र ब्रह्मचर्य
आयुर्वेद चिकित्साका अनुसार आहार, निद्रा र ब्रम्हचर्यको अनुशासन कायम गरेमा कोरोनाजस्ता सङ्क्रमण जोखिम कम गर्ने डा. चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दैनिक रुपमा हामीले सेवन गर्ने खाना सफा र सन्तुलित हुन आवश्यक छ । दैनिक ७ देखि ८ घन्टासम्म सुत्न आवश्यक छ ।’ तर दिउँसो सुत्न नहुने कुरामा ध्यान दिन आवश्यक रहेको उहाँले भन्नुभयो ।
उहाँले सुर्याेदय हुनुभन्दा ४५ मिनेटअघि उठ्ने र तामाको भाँडामा राखेको मनतातो पानी पिउने र मनतातो पानीले नुहाउनुपर्ने बताउनुभयो ।
‘बिहान उठ्नेबत्तिकै दुई चम्चा तिल वा तोरीको तेलले मुख कुल्ला गर्ने गर्नेले हाम्रो मुख र नाकबाट भित्र छिर्ने भाइरस शरीरमा प्रवेश गर्न पाउँदैन’ उहाँले भन्नुभयो । त्यसलगत्तै नुन बेसार त्रिफला, जेठीमधुमा मिसाएर हल्का तातोपानीले मुख कुल्ला गर्दा रोगको सङ्क्रमण निक्कै कम हुने उहाँले बताउनुभयो ।
मध्यान्ह तथा दिउँसो समयमा रचनात्मक कार्यहरु गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । ‘विद्युतीय उपकरणलाई पनि स्वस्थ सामाजिक उपयोग गर्न सकेमा जोखिम कम हुन्छ’ उहाँले भन्नुभयो ।
सध्याकालीन समयमा योग प्राणायम तथा घरभित्र गर्न सकिने भजन तथा मच्चोचारण गर्दा त्यसले मानसिक तनाव कम हुने उहाँले स्पष्ट पार्नुभयो । घरका बालबालिकाहरुको अध्ययन तथा शिक्षामा सहयोग पुग्ने खालको खेल खेल्न र आफूलाई करेसाबारी तथा मनोरञ्जनात्मक कार्यमा व्यस्त राख्नु निक्कै महत्वपूर्ण रहेको डा. चौधरीले बताउनुभयो ।
खानपानको कारणले कोरोनाको जोखिम धेरै हुने र कम हुने अध्ययनले समेत देखाएको भन्दै डा. चौधरीले भोकको आभास भएपछि मात्रै खाना खाने, राम्रोसँग पकाएर मात्रै खाने, सकेसम्म शाहाकारी भोजन गर्ने, सुपाच्य हल्का र ताजा खानेकुरा र बेलुका सुत्नु अघि तीन घन्टा अघि भोजन गर्न अनुरोध गर्नुभएको छ ।
गर्मीको सिजनमा जलअंशको अत्यधिक क्षयीकरण हुने भएकाले दिउँसोमा कागतीको सर्बत, बेलको सर्बत, पुदिना सर्बतले विभिन्न खालको रोगसँग लड्न सक्ने क्षमताको विकास हुने उहाँले भन्नुभयो ।
औषधिजन्य सुपको प्रयोग
हाम्रो भान्सामा रहेका औषधिको गुण भएका मसलाहरुको प्रयोगले कोरोनासँग जुध्न निक्कै सहयोग पुग्छ । त्यसैले हाम्रो भान्सामै भएको औषधिजन्य मसलाको प्रयोग गर्न आवश्यक रहेको डा. चौधरीले बताउनुभयो ।
उहाँले सुकेको अदुवाको सुठोलाई एक लिटर पानीमा राखेर सुण्ठी जल बनाएर खान सकिने बताउनुभयो । भान्सामा रहेको दालचिनीलाई समेत पानीमा राखेर पिउन आवश्यक रहेको उहाँले भन्नुभयो ।
आयुर्वेद चिकित्सामा उल्लेख भएको भान्सामा लसुन, टिमुर अदुवा, धनियाँको नियमित प्रयोग गर्न आवश्यक रहन्छ । टुसा उमारेको गेडागुडी तथा घरमै पाउने कन्दमुलको प्रयोगमा बढाउनुपर्ने उहाँले सुझाउनुभयो । उहाँले घरमै रहेको बेसार, अमला,तुलसीको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो ।
एक्कासि सुख्खा खोकी तथा घाँटी दुखेमा त्यसको घरायसी विधिको प्रयोग गरेर उपचार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । नुन, बेसार राखेर मनतातो पानीले दिनको तीन चारपटक कुल्ला गर्ने, पुदिना, ज्वानो पानीले बाफ लिने, जेठीमधु तथा बोझोको सानो टुक्रालाई मुखमा राखेर चुसिरहन अनुरोध गर्नुभएको छ ।
डा. चौधरीले अनिद्रा भएमा घरको कौसीमा रोपेर राखेको टोप्रो झारको पातलाई मिस्रीसँग वा सिधै रस बनाएर खान सकिने बताउनुभयो ।
राति सुत्ने बेलामा एक चम्चा अश्वगन्धा चूर्णलाई एक चम्चा मनतातो दूधसँग खान सकिने उहाँले बताउनुभएको छ ।
घरभित्रको वातावरण शुद्धीकरण
प्रतिजैविक गुण भएका वनस्पतिहरु निमको पात, सस्र्यँू, तीेतेपाती, गुग्गुल, अगुरा, सालको करालसँगै गाईको घ्यूलाई मध्यम खालको भाँडामा राखेर कपुरको सहायताले सल्काएर धुवाँ आउन थालेपछि घरमा राख्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै, धुवाँ भएपछि हावा वारपार गर्ने व्यवस्था मिलाउन अनुरोध गर्नुभयो । यसले घरको वातावरण सफा हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?