logo
२०८१ मंसिर १० सोमवार

  कोरोना जित्न सफल क्यान्सर पीडित ज्येष्ठ नागरिकको अनुभव  



कोरोना लाग्दैमा आत्तिनु हुँदैन, मनोबल दरो पार्नुपर्छ, उदाहरण म हुँ

स्वास्थ्य |
प्रदेश |


कोरोना लाग्दैमा आत्तिनु हुँदैन, मनोबल दरो पार्नुपर्छ, उदाहरण म हुँ


शालिग्राम नेपाल  
चितवन, असार ५ गते । क्यान्सर रोगबाट पीडित ज्येष्ठ नागरिकले ३० दिनमा कोरोना जितेर घर फर्कनुभएको छ । भारतबाट उपचार गरेर आउँदा कोरोना सङ्क्रमण पुष्टि भएपछि जेठ ८ गते भरतपुर अस्पतालमा उपचार गराइरहनुभएको ७४ वर्षीय उहाँ कोरोना परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज हुनुभएको हो । 
फोक्सोको क्यान्सरपीडित उहाँ कोरोना सङ्क्रमण निको भएर घर फर्किएपछि भरतपुर अस्पतालका चिकित्सकमा समेत खुसी छाएको छ । निकाे भएपछि उहाँले भन्नुभयो ‘उच्च मनोबल राखेमा कोरोना जित्न सकिन्छ भन्ने प्रमाणित भएको छ । अस्पतालमा रहँदा मैले चिकित्सकबाट राम्रो व्यवहार र उपचार पाएँ ।’
'कोरोना लाग्दैमा आत्तिनुहुँदैन मनोबल दरो पार्नुपर्दछ, यसको उदाहरण म भएको छु ।' उहाँले भन्नुभयो । उहाँसँगै ७३ वर्षीया श्रीमतीले पनि कोरोना जितेर घर जानुभएको छ । उहाँकी श्रीमतीमा पनि सुगर, प्रेसर, बाथको समस्या रहेकाे र अहिले काेराेना निकाे भएको भरतपुर अस्पतालले जनाएको छ ।
बिहीबार गरिएको परीक्षणमा उहाँहरू दुवैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीला पौडेलले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका -६ केशरवाग घर भएका उहाँहरूलाई जेठ ८ गते अस्पतालमा राखेर उपचार थालिएको थियो । एक महिना उपचारपछि उनीहरूले कोरोनालाई परास्त गर्न सफल हुनुभएको छ ।
वृद्ध उमेर र क्यान्सर रोग भए पनि उहाँको आत्मबल उच्च रहेकाले रोग परास्त गर्न सफल भएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताउनुभयो । वृद्धावस्थामा क्यान्सर रोगको उपचार गराएर भारतबाट नेपाल फर्कने क्रममा उहाहरू कोरोना सङ्क्रमित हुनुभएको थियो । त्यसको दुई दिनपछि छोरामा पनि सङ्क्रमण देखिएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?