logo
२०८१ मंसिर १० सोमवार



राजधानीबाहिर पहिलो पटक कोरोना पोजिटिभ गर्भवतीको शल्यक्रिया सफल

स्वास्थ्य |


राजधानीबाहिर पहिलो पटक कोरोना पोजिटिभ गर्भवतीको शल्यक्रिया सफल
कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल । तस्विर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, असार ६ गते । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा दोस्रो कोरोना पोजिटिभ महिलाको शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।
यसअघि सो अस्पतालमा अछामकी २५ कोरोना पोजिटिभ गर्भवती महिलाको आन्द्राको सफल शल्यक्रिया गरिएको थियो । उनको अझै सोही अस्पतालमा उपचार भइरहेको छ ।
ती दुवै सङ्क्रमित महिलाको शल्यक्रिया काठमाडाैँबाहिर पहिलो पटक नेपालगञ्जमा सम्पन्न गरिएको मेडिकल कलेजले जनाएको छ ।

रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालबाट रिफर गरिएर पठाइएकी कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया गर्भवती महिलाको शनिबार बिहान सफल शल्यक्रिया गरेर शिशुलाई बाहिर निकालिएको नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेषकुमार कनोडियाले बताउनुभयो ।

डा. कनोडियाका अनुसार ३८ हप्ताकी गर्भवती ती महिलाको यसअघि पनि भारतको मुम्बईमा शल्यक्रिया गरेर बच्चा जन्माइएको हुँदा यसपटक पनि शल्यक्रिया गर्नु परेकाले भीम अस्पताललले शुक्रबार उनलाई कोहलपुर शिक्षण अस्पतालमा रिफर गरेर पठाएको थियो ।

गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गर्नुपरेको जनाउँदै सहनिर्देशक डा. कनोडियाले मेडिकल कलेजका प्रसुति विशेषज्ञहरू डा. कविता सिन्हा, डा. अमरेन्द्र कुशवाहा, बालराेग विशेषज्ञ डा. राजेश केसी, एनेस्थेसियोलोजिस्ट डा. रविन श्रेष्ठ, सहायक एनेस्थेसियोलोजिस्ट सङ्गीता गिरी, नर्सहरू सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले शल्यक्रिया गरेको थियो ।
शल्यक्रियाबाट दुई किलो ४०० ग्रामको स्वस्थ्य शिशुकाे जन्म भएको र अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको डा. कनोडियाले बताउनुभयो ।

शिक्षण अस्पताल कोहलपुरका अनुसार ती महिला एक महिनाअघि मुम्बईबाट फर्किएर बुटवलस्थित क्वारेन्टाइनमा बसेकी थिइन् । उनको पीसीआर परीक्षण गर्दा जेठ ३० कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसअघि अछाम जिल्ला, बयलपाटा अस्पतालबाट रिफर भई कोहलपुरस्थित मेडिकल कलेज अस्पतालमा भर्ना गरिएकी कोरोना पोजिटिभ २५ वर्षीया महिलाको सफल शल्यक्रिया गरिएको थियो ।
कोहलपुर अस्पतालमा अहिले दुई जना शल्यक्रिया गरिएकासहित तीन जना जटिल अवस्थाका कोरोना पोजिटिभ बिरामीहरूको उपचार भइरहेको छ । तीमध्ये एक जना ८२ वर्षीय पुरुष रुकुम सानो भेरी निवासी पनि हुनुहन्छ । उहाँलाई जेठ ३२ गते भर्ना गरिएको थियो ।

उक्त अस्पतालमा हालसम्म कोरोना पोजिटिभ दुई जना बिरामीको मृत्यु भइसकेको र तीन जना उपचाररत रहेकाले उनका सम्पर्कमा आएका ९० जनाभन्दा बढी स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टाइनमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?