विष्णुप्रसाद पोखरेल
दमक, असार ६ गते । झापामा दुई ठाँउमा कोरोना परीक्षणको व्यवस्था मिलाउने तयारी भइरहेको पाइएको छ । भद्रपुरस्थित मेची अस्पतालमा कोरोना जाँचसहित उपचारका लागि कोभिड अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताउनुभएको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयको हाराहारीमा पुग्न लागेको अवस्था रहेपछि यहाँ कोभिड अस्पताल र सम्पूर्ण परीक्षणको व्यवस्था मिलाउन माग हुँदैआएको थियो । मेची अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउनका लागि झापाका राजनीतिक दलहरूसहित सरोकारवाला निकायहरूको पनि सहमति भएको पनि पोर्तेलले जानकारी दिनुभएको छ ।
यसैगरी, झापाकै दमकमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको जनाइएको छ । आवश्यक पूर्वाधार र स्थानसमेत भएकाले यस विषयमा पनि छलफल भइरहेको पोर्तेलले जनाउनुभएको छ । 'अहिले परीक्षण रिपाेर्ट आउन दुईदेखि तीन दिन लाग्ने भएकाले तत्कालै परीक्षणको रिपाेर्ट आउने अवस्था सिर्जना गर्न लागि परेका छौँ', पोर्तेलले भन्नुभयो ।
झापामा सबैभन्दा बढी कचनकवल गाउँपालिकामा कोरोना सङ्क्रमितहरू भेटिएका छन् भने जिल्लाका १५ वटा स्थानीय तहहरूमध्ये बिर्तामोड नगरपालिकाबाहेक १४ वटामा कोरोना सङ्क्रमण देखिएको छ । बिर्तामोड नगरपालिकामा पनि कसैमा पनि कोरोना पोजिटिभ देखिएको छैन । क्वारेन्टाइनमा रहेका र विदेशबाट आएकाहरूमा कोरोना सङ्क्रमण देखिएकाले समुदायस्तरमा कोरोनाको सङ्क्रमण जिल्लामा अहिलेसम्म रहेको छैन ।