डा. संगीता काैशल मिश्र
अहिलेको अवस्था असामान्य छ । माघदेखि अहिलेसम्म कोभिडविरुद्ध लडिरहेका छौँ । संस्थागत प्रसूति घटेको र मातृ मृत्युदर बढेका कुरा आएको छ । २०१६ तथ्याङ्कअनुसार ५८ प्रतिशत संस्थागत प्रसूति थियो । बन्दाबन्दी, यातायातको कमी, एम्बुलेन्स समयमा नपाउने, स्वास्थ्यकर्मीमा समेत अन्याेलले संस्थागत प्रसूति गराउने महिला घटेको देखिन्छ । तर यसलाई विस्तारै सहज बनाउने प्रयास गरिरहेका छौँ ।
यसै सन्दर्भमा गर्भवती महिलाले पूर्वप्रसूतिमै आफ्नो स्वास्थ्य सुरक्षा कसरी गर्ने ? कोभिड–१९ सम्बन्धि केके कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा जानकारी राख्न चाहन्छु । गर्भवती महिलाले ‘एन्टिनेटल’ (जन्मपूर्व) चेकअप गर्नैपर्छ । कम्तीमा चार वटा ‘एन्टिनेटल’ परीक्षण गराउनैपर्छ । तीन महिना, छ महिना, आठ महिना र नौ महिनामा । त्यसबाहेक खानपिनमा ध्यान दिनुपर्ने हुन्छ । प्रोटिनयुक्त खाना र झोलिलो पदार्थ खानुपर्छ । चिकित्सकको सल्लाह अनुसार पोलिक एसिड, आइरन, क्याल्सियम, दूध सेवन गर्दा राम्रो हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा सरसफाइमा ध्यान दिनुपर्छ । यसको लागि साबुन पानीले मिचीमिची हात धुने, हात धुन नमिले स्यानिटाइजरको प्रयोग गर्ने, हाच्छ्यूँ गर्दा, खोक्दा हातले मुखलाई छोप्ने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती महिलालाई इन्फेक्सनको सम्भावना हुने भएकाले बाहिर निस्कदा भौतिक दूरी (दुई मिटर) अनिवार्य कायम गर्नुपर्छ । कोभिडसँग डराएर जाँच गराउन नजाने भन्ने हुँदैन । कोभिडसँग डराउने होइन तर सतर्क चाहिँ हुनुपर्छ ।
अस्पताल कतिखेर जाने ?
यो नौ महिनाको अवधिमा बच्चा कम चले अथवा नचले, पेट दुखे वा रक्तश्राव वा योनीबाट पानी बगेको खण्डमा, ब्लडप्रेसर बढेमा, आँखा धमिलो देखिएमा तुरुन्त अस्पताल जानुपर्छ । ज्वरो १००.४ भन्दा बढी आएमा र स्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त अस्पताल जानुपर्ने/लैजानुपर्ने हुन्छ ।
अर्को कुरा, स्वास्थ्य संस्थामा गएर अनिवार्य प्रसूति गराउनु पर्छ । घरमा प्रसूति गराउँदा आमा र शिशुमा कतिपय स्वास्थ्य समस्या आउँछ, जुन अस्पतालसम्म पुर्याउँदा आमाको मृत्यु हुने सम्भावना हुन्छ । त्यसैले अस्पतालमै सुरक्षित तरिकाले प्रसूति गराउनुपर्छ ।
सुत्केरी अवस्थाको स्याहार कसरी गर्ने ?
खानपिनको ध्यान दिनुपर्ने त छँदैछ । त्यसबाहेक प्रसूतिपछि आमा र शिशुको स्याहारमा त्यति ध्यान दिएको पाइँदैन । प्रसूतिपछिको स्याहारमा ध्यान दिन निकै आवश्यक छ । धेरै खालका समस्या आउन सक्छ । पहिलो, तेस्रो, सातौ र २८ औँ दिनमा नजिकको स्वास्थ्य संस्थामा टेलिफोनको माध्यमबाट पनि कुरा गरेर समस्याको समाधान गर्न सकिन्छ । ब्रेष्ट फिडिङ गराउने कि नगराउने भन्नेमा अन्याेल छ । कोभिड भएको महिला भए पनि स्तनपानमा कुनै समस्या देखिएको छैन । स्तनपान गराउँदा कोभिड सर्दैन भन्ने पुष्टि भइसकेको छ । स्तनपान गराउँदा कोभिड सर्दैन । कोभिड सङ्क्रमित महिलाले पनि स्तनपान गराउन सक्नहुन्छ । कोभिड नभएको महिलाले त बच्चालाई अनिवार्य रुपमा छातीमा टाँसेर राख्ने, कङ्गारु मदर केयर गर्ने र स्तनपान गराउनुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयले मातृ तथा नवजात शिशूको गाइड लाइन निकालेको छ । स्थानीय हेल्थपोस्ट जिल्ला अस्पताललगायतमा कुनकुन प्रकारको सेवा दिने भन्नेबारे गाइड लाइनमा छ । सुत्केरी महिला अस्पतालमा आएमा कुनै पनि हालतमा सेवाबाट विमुख गर्न पाइने छैन । एम्बुलेन्सलाई सरकारले कहीँ पनि रोकेको छैन । कुनै पनि एम्बुलेन्स प्रयोग गर्दा हुन्छ । काठमाडौँमा १०२ डायल गरेर सेवा लिन सकिन्छ । बाहिर १०० मा डायल गरेर एम्बुलेन्स सेवा लिन सकिन्छ ।
प्रसूति अस्पतालको सेवा
अस्पतालले सबैभन्दा पहिला कोभिड वा ननकोभिड गर्भवती भनेर पहिचान गर्छ । शङ्का छ वा पोजिटिभ छ भने छुट्टै ठाउँमा सेवा दिएका छौँ । वेबसाइटमा हेल्प लाइन पनि छ त्यहाँमा फोनबाटै समस्या सोध्न सक्नुहुन्छ । नर्समल सेवा, ओपीडी, अपरेशन, फ्यामिली प्लानिङको सेवा नियमित चलिरहेको छ । गाइनोको सेवा पनि सुरु गर्न गएका छौँ ।
प्रस्तुतिः दीपक श्रेष्ठ