शिवराज ढुङ्गाना
अछाम, असार १३ गते । हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएकी कोरोना सङ्क्रमित चौरपाटी गाउँपालिकाकी एक गर्भवती महिलाले आन्द्राको शल्यक्रियासँगै कोरोना जितेकी छन् । आन्द्रा थुनिएपछि जेठ २६ गते कोहलपुर मेडिकल पुर्याएपछि चौरपाटी गाउँपालिका–५ की २५ वर्षीया गर्भवती महिलामा कोरोना पुष्टि भएको थियो ।
कोरोना भएपछिको दुई वटा परीक्षणमा सङ्क्रमण नदेखिएपछि सोही अस्पतालको सामान्य वार्डमा सारिएको बताइएको छ । “कोरोना खतम भयो भनेर नर्मल वार्डमा सारिसक्यो, आन्द्राको उपचार हुँदैछ ।” अस्पतालमै रहेका महिलाका पतिले भन्नुभयो । शल्यक्रियाको सफलतासँगै दोश्रो पटक कोरोना नभएको रिपोर्ट आएपछि परिवार खुसी भएको उहाँकाे भनाइ छ । कोरोना पुष्टि भएकै दिन कोहलपुर मेडिकल कलेज सिल गरेर जेठ २६ गते ती गर्भवती महिलाको शल्यक्रिया गरिएको थियो ।
भारतबाट आएर जेठ १६ गतेदेखि वडामा रहेको क्वारेन्टाइनमा पतिसँगै ती महिला क्वारेन्टाइनमा बस्दैआएकी थिइन् । क्वारेन्टाइनमै रहेको बेलामा पेटमा समस्या आएपछि आठ महिनाकी गर्भवती बयालपाटा अस्पताल ल्याइएको थियो । बयलपाटा अस्पतालका चिकित्सकले पेटमा रहेको आन्द्रा थुनिएको भन्दै थप उपचारका लागि सुविधायुक्त अस्पतालमा रिफर गरेका थिए । गर्भवती महिलालाई सरकारद्वारा परिचालन गरिएको हेलिकप्टरबाट निःशुल्क नेपालगञ्ज पुर्याइएको थियो ।
बन्दाबन्दी (लकडाउन) को अवधिमा हालसम्म अछाममा चार जना महिला तथा गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको छ । यसअघि तुर्माखाँद गाउँपालिकाबाट दुई र चौरपाटी र रामारोशन गाउँपालिकाका एक/एक महिलाको हवाई उद्धार गरिएको थियाे । हेलिकप्टरबाट उद्धार गरिएकी रामारोशन गाउँपालिकाकी सुत्केरीको भने कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
अछाममा कोरोना सङ्क्रमण पुष्टि भएका हालसम्म १३ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
हालसम्म ११४ जनामा कोरोना पुष्टि भइसकेको छ । कोरोना सङ्क्रमणको आशङ्कामा सङ्कलन गरिएका एक हजार ३६१ जनाको स्वाबका नमूना परीक्षण हुन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामको भनाइ छ ।