तारा चापागाई दुवे
पोखरा, असार २० गते । गण्डकी प्रदेश सरकारले प्रदेशमातहत ल्याउन लागेको पोखरा ३० शिशुवास्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ७० लाख ३४ हजार रुपियाँ अनुदान दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा विकास मन्त्रीसमेत रहनुभएका सरकारका प्रवक्ता रामशरण बस्नेतले अस्पतालको भौतिक पूर्वाधार तयार गर्न, उपकरण थप गर्न, जनशक्ति थप गर्न उक्त रकम दिन लागिएको जानकारी दिनुभयो ।
कोरोना भाइरसको समस्यासँग लड्न विभिन्न तयारी गर्न आवश्यक भएकाले रकम उपलब्ध गर्न लागेको मन्त्री बस्नेतको भनाइ छ । प्रदेश सरकारले उक्त अस्पताललाई सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने उद्देश्यका साथ आफ्नो स्वामित्व मातहत ल्याउने प्रक्रियामा रहेको छ ।
त्यसैगरी, बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानमा छ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । लोकसेवा आयोगको समेत दरबन्दी स्वीकृत भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।
बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि पनि संशोधन गरेको छ । कार्यविधिको उपनियम १२ मा स्थानीय तह उल्लेख भएकोमा उक्त शब्द हटाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । ‘निर्वाचन क्षेत्रभरिका जुनसुकै स्थानीय तहमा बजेट विनियोजन गर्न सकिने गरी उपनियम १२ को (क) व्यवस्था गरेको उहाँले बताउनुभयो ।
‘कार्यक्रम अन्तर्गत योजना विनियोजन गरिरहँदा स्थानीय तहको जुन क्षेत्रमा योजना परेको थियो । त्यसलाई संशाेधन गर्नका लागि त्यही स्थानीय तहमा भन्ने थियो त्यसलाई हटाइएको हो, मन्त्री बस्नेतले भन्नुभयो ।