गाेरखापत्र अनलाइन
काठमाडौँ, साउन ४ गते । वैज्ञानिक अनुसन्धानले कोभिड–१९ निम्ताउने कोरोनाभाइरसको सङ्क्रमण लामखुट्टेको टोकाइबाट सर्वसाधारणमा नसर्ने पुष्टि गरेका छन् । उक्त अनुसन्धानले विश्व स्वास्थ्य सङ्गठनको लामखुट्टेबाट कोभिड–१९ बाट नआएको दाबीलाई थप बल पुर्याएको छ ।
अमेरिकाको कन्सस स्टेट विश्वविद्यालयका शोधकर्ताले गरेको अनुसन्धानले लामखुट्टेबाट कोभिड–१९ को सङ्क्रमण नसर्ने पुष्टि गरेको छ । उक्त शोधका सहलेखक स्टिफन हिग्सले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनले लामखुट्टेले भाइरस नसार्ने बताए पनि आफूहरूले निचोडसहितको तथ्याङ्कमा आधारित रहेर दाबी गरेका छौँ ।”
द हिन्दूस्तान टाइम्सका अनुसार विश्वविद्यालयको बायोसेक्युरिटी अनुसन्धान प्रतिष्ठानले गरेको अनुसन्धानमा एडेस एजिप्टी, एडेस अल्बोपिक्टस र क्युलेक्स क्विनक्वेफेसिटस गरी तीन प्रजातिको लामखुट्टेमाथि परीक्षण गरिएको थियो । अध्ययनपछि लामखुट्टेले मानिसमा कार्स–कोभ–२ नसार्ने पुष्टि गरेको छ । अध्ययनले कोभिड–१९ सङ्क्रमितलाई टोकेको लामखुट्टेले सङ्क्रमण नरहेको व्यक्तिलाई टोकेपनि सङ्क्रमण नसार्ने देखाएको छ ।
उक्त शोधमा २७७ वटा नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । एजेन्सी