logo
२०८१ मंसिर ११ मंगलवार

  समाचार टिप्पणी  



होम क्वारेन्टिनः बाध्यात्मक निर्णय, जोखिम कायमै

स्वास्थ्य |
मुख्य समाचार |
पढ्नै पर्ने |


होम क्वारेन्टिनः  बाध्यात्मक निर्णय, जोखिम कायमै


इश्वरचन्द्र झा
काठमाडौँ, साउन ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाहिरबाट आउने सर्वसाधारणका लागि ‘होम क्वारेन्टिन’को लागि अनुमति दिएको छ । मन्त्रालयले विदेशबाट स्वदेश फर्किनेले मापदण्ड पूरा गर्ने गरी ‘होम क्वारेन्टिन’मा बस्न अनुमति दिएको हो । स्वास्थ्य मन्त्रालयले होम क्वारेन्टिनसम्बन्धी मापदण्ड, २०७७ साउन २ गते स्वीकृत गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमण अत्यधिक रहेको देशबाट स्वदेश फर्किँदा आफ्नै घरमा तोकिएका मापदण्डहरू पूरा गर्ने गरी ‘होम क्वारेन्टिन’मा बस्न सक्ने बताउनुभएको छ । मङ्गलबारसम्म क्वारेन्टिनमा २१ हजार ७०४ जना बसेका छन् ।

प्रत्येक दिन सरदर करिब पाँच सयको हाराहारीमा सर्वसाधारण विदेशबाट नेपाल फर्किने क्रम जारी रहेको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले आन्तरिक तथा बाह्रय उडानसमेत भदौ पहिलो सातादेखि लागू हुने गरी खुला गर्ने निर्णय गरेको छ । यसरी विदेशबाट आउँदा क्वारेन्टिनमा चाप बढ्ने हुँदा होम क्वारेन्टिनको अवधारणा ल्याई सरकारले बस्न अनुमति दिएको हो । तर ‘होम क्वारेन्टिन’ मा बस्नुपूर्व आगन्तुकले सम्बन्धित निकाय समक्ष अनुरोध गर्नुपर्नेछ ।

प्रवक्ता डा. गौतमले होम क्वारेन्टिनमा बस्दा पनि व्यक्तिको आग्रहमा स्वास्थ्य परीक्षण नियमित हुने दाबी गर्नुभयो । उहाँले क्वारेन्टिनमा बसेकाझैँ होम क्वारेन्टिनमा बस्नेको स्वाब परीक्षण गरिने जानकारी दिनुभयो ।

विद्यालय रिक्त गर्नुपर्ने बाध्यता
अधिकांश क्वारेन्टिन सामुदायिक विद्यालयमा रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौ १ गतेबाट नै नयाँ सत्र सुरु हुने निर्णय गरिसकेको छ । जसबमोजिम पहिलो सातादेखि नै विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।

तर यी गतिविधि सञ्चालन गर्नुपूर्व सामुदायिक विद्यालयमा रहेको क्वारेन्टिन खाली गरी ‘निःशङक्रमण’ गर्नुपर्नेछ । विद्यालयमा पठनपाठनको तयारी सुरु गर्न क्वारेन्टिन स्थल परिवर्तन गर्नुपर्नेछ । जसको पूर्वतयारी स्वरुप होम क्वारेन्टिनलाई अनुमति प्रदान गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार हाल करिब चार हजार सामुदायिक विद्यालय क्वारेन्टिनमा परिणत भएका छन । क्वारेन्टिनमा थपिन आएका आशङ्कितमा विद्यालयको सङ्ख्या घटबढ हुँदैआएको उहाँले बताउनुभयो । अधिकांश क्वारेन्टिन कक्षा दशसम्म पठनपाठन हुने पूर्वाधार सम्पन्न सामुदायिक विद्यालय छन् ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार तात्काल चार हजार छ सय सामुदायिक विद्यालयमा क्वारेन्टिन छन् । नेपालमा कुल सामुदायिक विद्यालयको सङ्ख्या २९ हजार २०७ रहेको छ । केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले पठनपाठन सुचारुको आन्तरिक तयारी भइरहेकै सन्दर्भमा होम क्वारेन्टिनको अनुमति दिइनु स्वागत योग्य रहेको प्रतिक्रिया दिनुभयो ।

क्वारेन्टिनमा बस्नेको सङ्ख्या दैनिक रुपमा घट्दैआएको छ । पछिल्लो एक सातामा मात्रै करिब तीन हजार व्यक्ति क्वारेन्टिनबाट घर फर्केका छन् । तर पनि क्वारेन्टिन पूर्णरुपमा व्यक्तिरहित हुन महिनौँ लाग्न सक्छ । त्यत्तिञ्जेलसम्म पठनपाठन प्रभावित गर्न नहुने तर्कले समेत होम क्वारेन्टिनको अनुमति दिइएको छ । “शिक्षा मन्त्रालयले पठनपाठन सुचारु गर्ने आन्तरिक तयारी सुरु गरेको अवस्थामा क्वारेन्टिनमा परिणत भएको सामुदायिक विद्यालय खाली गर्न दबाब पर्नेछ ।” – प्रदेश २ अन्तगर्त धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका स्वास्थ्य फाँटका उपसंयोजक दीपेन्द्र यादव बताउनुहुन्छ ।

उक्त गाउँपालिकामा पाँच वटा क्वारेन्टिन रहेका छन् । पाँचै क्वारेन्टिन सामुदायिक विद्यालयमा छन् । हाल कुम्हरौडास्थित लक्ष्मिनियाँ जनता माविको क्वारेन्टिनमा चार जना छन् । जेठ १८ गते उक्त सामुदायिक विद्यालयको क्वारेन्टिनमा ६० जना पुगेको थियो ।

क्वारेन्टिनमा अर्बौं खर्च
प्रवक्ता गौतमले ‘होम क्वारेन्टिन’मा बस्न स्थानीय निकायको सहमति र प्रत्यक्ष निगरानी अनिवार्य हुने उल्लेख गर्नुभयो । ‘होम क्वारेन्टिन’मा बस्नेले १४ दिन घरभित्रै अनिवार्य बस्नुपर्नेछ । यसअघि विदेशबाट आउनेलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिँदैआएको थियो । क्वारेन्टिनमा रहँदा खाना, स्वास्थ्य उपचार तथा आवासको व्यवस्था स्वास्थ्य मन्त्रालयको मापदण्ड बमोजिम स्थानीय निकायले गर्दै आएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको मापदण्ड बमोजिम स्थानीय निकायले क्वारेन्टिन सञ्चालन गर्दैआएको छ । क्वारेन्टिनमा बस्दा १४ दिनमा प्रतिव्यक्ति खर्च करिब नौ हजार हुँदैआएको छ । यसरी हाल क्वारेन्टिनमा रहेका २१ हजार ७०४ जनामा मात्रै १९ करोड ३६ लाख रुपियाँ करिब खर्च हुनेछ ।

यसअघि कोरोनाको प्रकोप विदेशमा अत्यधिक हुँदा तथा नेपाल फर्किनेको चाप बढेर क्वारेन्टिनमा अधिकतम करिब एक लाख ७५ हजार व्यक्तिसम्म पुगेको थियो । २०७७ जेठ २५ गते क्वारेन्टिनमा एक लाख ७० हजार ७३२ जना बसेका थिए । उक्त समयमा मात्रै क्वारेन्टिनमा खाना, आवाससहित सरसफाइको व्यवस्थापनमा एक अर्ब ५३ करोड ६५ लाखको हाराहारीमा खर्च भएको अनुमान गरिएको छ । क्वारेन्टिनमा हुने खर्च धान्नै नसकिने अवस्थामा पुगेपनि सरकारले आफ्नै खर्चमा क्वारेन्टिनको व्यवस्थापन गर्दैआएको छ ।

मन्त्रालयले ‘होम क्वारेन्टिन सम्बन्धी मापदण्ड–२०७७’ स्वीकृत गरेपछि यस प्रकारको सुविधा सञ्चालनमा आउन लागेको हो ।

होम क्वारेन्टिनको मापदण्ड
मापदण्डमा सम्बन्धित व्यक्तिको घरमा हुनुपर्ने न्युनत्तम भौतिक पूर्वाधार तथा सम्बन्धित व्यक्ति र परिवारका सदस्यहरूले पालना गर्नुपर्ने व्यवहार उल्लेख गरिएको छ । होम क्वारेन्टिनमा बस्नेले हावा खेल्ने तथा पर्याप्त प्रकाश आउने छुट्टै कोठामा बस्ने व्यवस्था भएको हुनुपर्ने, सकेसम्म स्नानघर/शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामूहिकरुपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा प्रत्येक प्रयोगपछि सरसफाइमा प्रयोग हुने ‘डिस्इन्फेक्टेन्ट’ ले राम्रोसँग सफा गरेपछि मात्रै अन्य सदस्यले प्रयोगको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

मापदण्ड अन्तर्गत पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डहरूमा घरका सदस्य वा आफन्तसँग भेटघाट गर्दा दुई मिटरको दूरी कायम गर्ने, अत्यावश्यकबाहेक कसैसँग भेटघाट नगर्ने उल्लेख गरिएको छ । होम क्वारेन्टिनमा मास्कको प्रयोग अनिवार्य गर्ने, समय समयमा साबुनपानीले हात धुने जस्ता सुझाहरू दिइएको छ ।

मन्त्रालयले जारी गरेको मापदण्डबमोजिम आवश्यक सामग्रीहरूको व्यवस्था एकैपटक मिलाउने, शारीरिक व्यायाम नियमित गर्ने, जोखिम समूहको सुरक्षामा आफैँ ध्यान दिनुपर्नेछ । क्वारेन्टिनमा प्रयोगमा आउने सामग्रीहरूको उचित विसर्जन गर्ने, स्वास्थ्य अवस्थाबारे चिकित्सक वा स्वास्थ्य संस्थालाई नियमित जानकारी गराउनुपर्नेछ ।मापदण्ड बमोजिम होम क्वारेन्टिनमा बस्नेलाई स्वास्थ्य जटिलता भएको अवस्थामा स्थानीय निकायलाई अनिवार्य जानकारी गराउनुपर्नेछ ।
मन्त्रालयले मापदण्ड स्वीकृतिपछि विदेशबाट आउनेलाई सहज हुने अपेक्षा राखेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले आ आफ्नो स्तरबाट ‘होम क्वारेन्टिन’मा बस्दा उक्त मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । मापदण्डको पालना नगर्दा आफ्नै घरका वृद्धवृद्धा र रोगसँग लड्ने प्रतिरोधी क्षमता कम भएका परिवारका सदस्य तथा छरछिमेक जोखिममा पर्न सक्नेछन् ।

मन्त्रालयले यसअघि होम आइसोलेसनको मापदण्ड स्वीकृत गरिसकेको छ । यद्यपि होम आइसोलेसनका लागि अनुमति दिइसकेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?