logo
२०८१ मंसिर ११ मंगलवार

  नेपालमा कोरोना परीक्षण  



परीक्षण पुगेन: विज्ञ, डब्लुएचओलाई पछ्याएका छौँ: सरकारी अधिकारी

स्वास्थ्य |
मुख्य समाचार |


परीक्षण पुगेन: विज्ञ, डब्लुएचओलाई पछ्याएका छौँ: सरकारी अधिकारी


इश्वरचन्द्र झा
काठमाडौँ, साउन ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को परीक्षण क्षमता दैनिक दशदेखि १५ हजार रहेको दाबी गर्दैआएको छ । तर उक्त परिमाणमा परीक्षण भने भएको छैन । हालसम्म सबैभन्दा बढी असार १५ मा सात हजार ७९१ जनाको परीक्षण गरिएको थियो । जसमा ४७६ जनामा कोभिड–१९ को पुष्टि भएको थियो । त्यसयता परीक्षणको सङ्ख्या घट्दैगएको देखिन्छ ।

जनस्वास्थ्य विज्ञहरूले परीक्षण दर कम भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आलोचना गर्दैछन् । जति बढी परीक्षण भयो, उति बढी सङ्क्रमित फेला पर्ने र जोखिम कम हुँदै जाने तथ्यमा आधारित रहेर विज्ञहरूले परीक्षण दर कम भएको भन्दै आलोचना गर्छन् । तर मन्त्रालयले दक्षिण एसियामै नेपालमा कोभिड–१९ को परीक्षण दर भारत, पाकिस्तान, अफगानिस्तानसहितका राष्ट्रहरूभन्दा बढी रहेको दाबी गर्दैआएको छ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले जनसाङ्ख्यिक चापको आधारमा परीक्षणदर यथार्थमै कम रहेको बताउनुहुन्छ । उहाँले समान रुपमा परीक्षण गर्नुपर्ने तर्क गर्नुहुँदै काठमाडौँको जनसङ्ख्या ४० लाख रहँदा कम्तीमा दुई प्रतिशतमा परीक्षण हुनुपर्ने सुझाउनुहुन्छ । जस अनुसार काठमाडौँ उपत्यकामा मात्रै ८० हजार व्यक्तिको परीक्षण हुनुपर्ने हो । नेपालको जनसङ्ख्या तीन करोड आकलन गर्दा कम्तीमा छ लाख व्यक्तिको परीक्षण हुनुपर्ने हो । हालसम्म तीन लाख ३१ हजार ९५ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।

सङ्क्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा पनि कुल जनसङ्ख्याको दुई प्रतिशत व्यक्तिमा परीक्षण गर्नुपर्ने स्वीकार्नुहुन्छ । उहाँले उक्त लक्ष्यसहित नै नेपालमा परीक्षण भइरहेको बताउनुहुन्छ । जसअनुसार नेपालमा करिब छ लाख व्यक्तिको आरटी पीसीआर परीक्षण गरिनेछ ।

कहिलेसम्म छ लाख व्यक्तिमा परीक्षण सम्पन्न हुनुपर्ने सवालमा डा. पाण्डेले अबको एक महिनाभित्र बाँकीको दुई लाख पचास हजार व्यक्तिको परीक्षण गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

क्वारेन्टाइनमा करिब २० हजार व्यक्ति रहे पनि क्षमताअनुसार किन दुई दिनमै परीक्षण नसकिएको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. गौतम भन्नुहुन्छ, “२० हजार व्यक्ति एकैपटक क्वारेन्टाइनमा आएका होइनन्, दैनिक थपिन्छ र सङ्क्रमण नभएको अवस्थामा पठाइन्छ ।”

डा. बासुदेव पाण्डेले मन्त्रालयका प्रवक्ता डा. गौतमको भनाइलाई थप प्रष्ट्याउँदै क्वारेन्टिनमा बसेको पाँच दिनपछि मात्रै स्वाब सङ्कलन गर्दा यथार्थ अवस्था आउने हुँदा एकैदिन एकैपटक परीक्षण नगरिएको बताउनुभयो । तर समुदायमा सङ्क्रमणको अवस्था पत्ता लगाउनुका साथै सङ्क्रमणको यथार्थ अवस्था चित्रण गर्न क्वारेन्टिनबाहिरको परीक्षणलाई निरन्तरता दिनुपर्ने विज्ञहरूको धारणा छ । मन्त्रालयले क्वारेन्टिनबाहिर जोखिम समूहमा रहेका करिब ४५ हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्ने जनाएकोमा दुई सातामा करिब २५ हजार व्यक्तिमा मात्रै परीक्षण हुन सकेको छ ।

परीक्षणदर बढाउन तथा बाहिर यात्राका लागि दबाब पर्दा मन्त्रालयले बाहिर निजी प्रयोगशालामा परीक्षण गराउँदा व्यक्तिले करिब पाँच हजार पाँच सय रुपियाँ शुल्क तिर्नुपर्ने निर्देशिका जारी गरेको छ । सरकारी अस्पताल तथा प्रयोगशालामा समेत उक्त सुविधा दिइएको छ । मन्त्रालयले आफैँ परीक्षण गर्दा पनि खर्च हुने भएकोले अनावश्यक परीक्षण गरेर स्रोत खेर फाल्न नहुने मन्त्रालयका प्रवक्ता डा. गौतम बताउनुहुन्छ । तर विज्ञले भने ‘क्युमेलेटिभ’ विधिबाट परीक्षण गर्दा अनावश्यक स्रोत पनि नखर्चिने र खर्च पनि कम हुने भन्दै सुझाउँछन् ।

अनावश्यक खर्च सन्दर्भ जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भन्नुहुन्छ, “अमेरिकामा समेत यस प्रकारको विधि प्रयोग गरी चारजनाको नमूना मिसाइ परीक्षण गरिरहँदा नेपालले दश जनासम्मलाई उक्त विधि अनुसार कम खर्चमा राम्रो परीक्षण हुन्छ ।” समुदायमा परीक्षण गर्दा उक्त विधि अपनाइन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा परीक्षण दर विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डभन्दा बढी रहेको दाबी गर्नुहुन्छ । नेपालमा प्रतिदशलाखमा ११ हजार ३५२ जनाको परीक्षण गरिएको छ । तर ‘आवर वर्ल्ड इन डाटा’का अनुसार नेपालमा प्रति हजारमा ०.१५ व्यक्तिको परीक्षण गरिएको छ । कम जनसङ्ख्या भएका राष्ट्रको परीक्षण दर अत्याधिक रहेको देखिन्छ । बहरानमा प्रति हजार ५.८१ र अमेरिकामा २.३५ छन् । फ्रान्समा ०.७६ र भारतमा ०.२४ उसको तथ्याङ्कले देखाएको छ । ‘आवर वर्ल्ड इन डाटा’ले अक्सफोर्ड विश्वविद्यालयसँगको समन्वयमा तथ्याङ्कहरू अद्यावधिक गर्दैआएको छ ।

नेपालमा ३३ वटा प्रयोगशालाले कोभिड–१९ को परीक्षण गर्दैआएको छ । जनसाङ्ख्यिक चाप अनुसार प्रयोगशालाको सङ्ख्या उपयुक्त रहेको विज्ञहरू बताउँछन् । भारतको चिकित्सकीय अनुसन्धान परिषद्(आइसीएमआर)का अनुसार करिब एक अर्ब ३० करोड जनसङ्ख्या रहेको भारतमा कोभिड–१९ को परीक्षण गर्ने प्रयोगशालाको सङ्ख्या एक हजार २२३ छन् । आठ सय ६५ सरकारी प्रयोगशाला र ३५८ निजी प्रयोगशाला छन् ।

भारतमा सङ्क्रमण पोजिटिभ दर आठ देखि १० प्रतिशत रहँदा परीक्षण पनि बढी मात्रामा गर्नुपर्ने हुन्छ । नेपालमा पोजिटिभ दर पाँच प्रतिशतभन्दा मुनि हुँदा पनि प्रति दशलाख जनसङ्ख्यामा परीक्षण दर भारतभन्दा बढी हुनुले परीक्षण कम भएको भन्न नसकिने सङ्क्रामक तथा सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डे तर्क गर्नुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?