सिराज खान
नेपालगञ्ज, साउन १६ गते । नेपालगञ्जस्थित आन्तरिक राजस्व कार्यालयमा कर्मचारी र उनका परिवारका सदस्य गरेर १४ जना सङ्क्रमित भेटिएपछि सो कार्यालयलाई आइसोलेसन सेन्टर बनाइएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका अनुसार राजस्व कार्यालय परिसरभित्रै कर्मचारी निवासहरू पनि रहेको हुँदा त्यहाँ सङ्क्रमित भेटिएका सबैलाई सोही कार्यालयको परिसरमा १४ दिनसम्म राख्ने गरी त्यहीँ आइसोलेसन सेन्टर बनाइएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले कर्मचारी र उनका परिवार गरेर १४ जनामा सङ्क्रमण पुष्टि भएपछि उनीहरू सबैलाई सोही कार्यालय परिसरभित्र राखेर निजामति कर्मचारी अस्थायी आइसोलेसन सेन्टर बनाइएको बताउनुभयो । उहाँले ती सबैको सम्पर्कमा आएकाहरूको परीक्षण गर्नुपर्ने हुँदा सूची तयार गर्ने काम पनि भइरहेको जनाउँदै कम्तीमा दुई सातासम्म कार्यालयलाई बन्द राखिने बताउनुभयो ।
कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले आन्तरिक राजस्व कार्यालयमा सङ्क्रमित भेटिएकाहरू सबैको अवस्था सामान्य रहेकोले पनि त्यहाँ राख्न सहज भएको बताउनुभयो ।
उता, आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले आफ्नो कार्यालय हटस्पट बनेकोमा दुख व्यक्त गर्दै सङ्क्रमित हुनुभएकाहरूको नजिककाे सम्पर्कमा आउनुभएका करदातालगायत अन्यलाई पनि परीक्षण गराउन आग्रह गर्नुभएको छ ।
उहाँले राजस्व कार्यालय परिसरलाई नै आइसोलेसन सेन्टर बनाइएकोले साउन २५ गतेपछि मात्रै कार्यालय सञ्चालनमा आउने बताउनुभयो । प्रमुख पौडेलले कार्यालयका सबै कोठाहरूलगायत सबै कर्मचारी निवासलाई पनि स्यानिटाइज गरेर २५ गतेपछि कार्यालय खोल्ने योजना बनाइएको बताउनुभयो । बिहीबार एकैदिन नेपालगञ्जमा २९ जना सङ्क्रमित भेटिएपछि यसअघि बन्द गरिएको लायन्स डेन्टल आइसोलेसन सेन्टरलाई पनि पुनः सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख धीरजङ्ग शाहले एक्कासि समुदायमा कोरोना देखिन थालेपछि सङ्क्रमितहरू बढेको हुँदा अब जिल्लाका अन्य आइसोलेसन र क्वारेन्टाइनहरू पनि फेरि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।
आकस्मिक परीक्षणका क्रममा स्थानीय त्रिभुवन चोकमा रहेको एक मिठाई पसल सञ्चालक र आन्तरिक राजस्व कार्यालयका एक अधिकृतमा सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा नेपालगञ्जमा एकैदिन २९ जनामा सङ्क्रमण भेटिएको हो । एकैदिन २९ जना सङ्क्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय, बाँकेले आइतबारदेखि तीन दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।