logo
२०८१ मंसिर ११ मंगलवार



स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई कोरोना सङ्क्रमण

स्वास्थ्य |


स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई कोरोना सङ्क्रमण



अविनाश चौधरी
धनगढी, साउन २० गते । कैलालीको कैलारी गाउँपालिकास्थित क्वारेन्टाइनमा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छे कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।
वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा कार्यरत एक/एक जना स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई मङ्गलबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । विद्यालयको क्वारेन्टाइनमा कार्यरत ल्याबको काम गर्ने स्वास्थ्यकर्मी, विद्यालयको चौकीदार र क्वारेन्टाइनमा बसेकाहररूका लागि खाना पकाउने व्यक्तिलाई कोरोना सङ्क्रमण भएको गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा काम गर्ने व्यक्तिहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँहरूको ‘कन्टयाक्ट’ मा आएका कर्मचारी, परिवारका सदस्य र अन्य स्थानीयको पनि स्वाब परीक्षणका लागि सङ्कलन गरिने जनाइएको छ । ‘सङ्क्रमितको कन्ट्याक्टमा आएका कर्मचारीसहित सम्पूर्णको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाउँछौं’, सापकोटाले भन्नुभयो ।

उहाँका अनुसार सङ्क्रमित पुष्टि भएका स्वास्थ्यकर्मी एकदिन घर पनि जानुभएको थियो । यसैगरी, उहाँको सम्पर्कमा केही स्थानीय व्यक्ति पनि आएका छन् । आइसोलेसनमा राखिएका सम्पूर्ण सङ्क्रमितलाई निको बनाएर घर पठाएपछि अन्त्यमा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य संयोजक सापकोटाले बताउनुभयो ।

‘हसुलियास्थित आइसोलेसनमा रहेका सङ्क्रमितलाई हिजोमात्रै निको बनाएर घर पठाउने कार्य भएको थियो’, उहाँले भन्नुभयो, ‘अरु सङ्क्रमितलाई निको पार्दै गर्दा हाम्रै कर्मचारीको रिपोर्ट पोजिटिभ आयो ।’ सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीसहितलाई हसुलियाको दीपेन्द्र माविस्थित आइसोलेसनमा राखिएको सापकोटाले जनाउनुभयो । गाउँपालिकामा मङ्गलबार सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?