logo
२०८१ बैशाख २८ शुक्रवार



दश दिनमा आईसीयूमा भर्ना हुने सङ्क्रमित चार गुणाले बढ्यो

स्वास्थ्य |
मुख्य समाचार |


दश दिनमा आईसीयूमा भर्ना हुने सङ्क्रमित चार गुणाले बढ्यो


इश्वरचन्द्र झा 
काठमाडौँ, साउन २६ गते । पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना सङ्क्रमितको सङ्ख्या चार गुणाले वृद्धि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या वृद्धि हुनुका साथै सघन उपचार आवश्यक हुने बिरामीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ ।
मन्त्रालयका अनुसार हाल ९३ जना कोरोनाभाइरस सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । शरीरको मुख्य अङ्ग मुटु र फोक्सोको चालबारे जानकारी राख्न आईसीयूमा भर्ना गरिन्छ । शरीरमा कृत्रिम रुपले वायु सञ्चारको लागि भेन्टिलेटरको प्रयोग गरिन्छ ।
साउन १४ गते देशैभरि कुल २२ जना कोरोना सङ्क्रमित सघन उपचारका लागि आईसीयूमा भर्ना भएका थिए । साउन २४ गते सघन उपचारमा २४ जना थिए । पछिल्लो दश दिनमा उक्त सङ्ख्या ९३ पुगेको हो । साउन १४ गते १९ हजार २७३ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । स्वास्थ्य विज्ञहरूका अनुसार दीर्घरोगी तथा वृद्ध उमेर समूहका व्यक्तिमा प्रतिरोध क्षमता कमजोर भएकोले सङ्क्रमित भएको अवस्थामा जोखिम बढी हुन्छन् ।
सुरुमा सङ्क्रमणको पुष्टि हुनेमा विदेशबाट फर्किनेहरू अधिकांश थिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सङ्क्रमित हुने अधिकांश युवा उमेर समूहको रहेकाले सघन उपचारको आवश्यकता देखिएन र मृत्युदरसमेत निकै कम मापन गरिएको हो । तर पछिल्ला केही दिनमा वृद्ध र किशोर अवस्थाका व्यक्ति सङ्क्रमित हुन थालेपछि सघन उपचार गराउने बढ्दैछन् । परिणामस्वरुप मृत्यु हुनेसमेत बढेको छ ।
पछिल्लो १२ दिनमा मात्रै तीस जना सङ्क्रमितको मृत्यु दत्र्ता गरिएको छ । जेठ ३ गते नेपालमा पहिलो पटक एक जना सुत्केरी महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । सघन उपचारमा जानेको सङ्ख्या वृद्धि भइरहँदा मृतकको सङ्ख्या पनि बढ्दो छ । पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ ।

प्रदेश २ मा ५४ जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । हाल तीन हजार १४४ जनामा सङ्क्रमण सक्रिय छन् । प्रदेश २ मा कुल सक्रिय सङ्क्रमितको एक दशमलब ७१ प्रतिशत बिरामी सघन उपचारमा छन् । उक्त प्रदेशमा हालसम्म ३३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
बाग्मती प्रदेशमा ३१ जना कोरोनाभाइरस सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । वाग्मती प्रदेशमा सङ्क्रमण सक्रिय रहेको बिरामी एक हजार २१० छन् । बाग्मती प्रदेशका सक्रिय सङ्क्रमितको सङ्ख्याको आधारमा करिब २.५६ प्रतिशत बिरामी सघन उपचारमा छन् । तर राजधानी शहरसमेत रहेको काठमाडौँमा देशका अन्य भेगका बिरामीसमेत सघन उपचारका लागि भर्ना भएका छन् । बाग्मती प्रदेशमा हालसम्म १३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रदेश १ मा दुई जना, प्रदेश ५ मा छ जना बिरामी आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म प्रदेश १ मा पाँच जना, प्रदेश २ मा ३३ जना, बाग्मती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा छ जना, प्रदेश ५ मा ११ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिममा सात जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित हुने २३ हजार ३१० पुगेको छ, १६ हजार ४९३ जना निको भएका छन् । छ हजार ७३८ जनामा सङ्क्रमण सक्रिय छ । दश हजार ७५९ जना क्वारेन्टिनमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?