logo
२०८१ मंसिर ११ मंगलवार



संसारको स्वास्थ्य क्षेत्र रक्षात्मक रहेको अवस्थामा नेपालकाे प्रयत्न र परिणाम राम्रोः मन्त्री ढकाल

स्वास्थ्य |


संसारको स्वास्थ्य  क्षेत्र रक्षात्मक  रहेको अवस्थामा नेपालकाे प्रयत्न र परिणाम राम्रोः मन्त्री ढकाल
तस्बिर ः कविता थापा


दीपक श्रेष्ठ

काठमाडौँ, साउन २७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (भोभिड–१९) सङ्क्रमणको जोखिम बढिरहेकाले सबै क्षेत्रका उच्च सतर्कताका आवश्यक रहेको बताउनुभएको छ । मन्त्री ढकालले जनताको स्वास्थ्यभन्दा सरकारको अर्को स्वार्थ नरहेको स्पष्ट पार्दै भन्नुभयो, “कोभिड साझा दुश्मन हो । यसका बिरुद्ध सबैले एकताबद्ध भएर लड्न आवश्यक छ ।” उहाँले स्वास्थ्य क्षेत्र सुध्रेलाकी भन्ने चिन्ताबाट ग्रसित भएर केही व्यक्तिहरु कोरोना नियन्त्रणमा भइरहेका सरकारी प्रयासको आलोचना गरिरेको चर्चा गर्नुभयो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सवका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री ढकालले भन्नुभयो, “बेथिति गरेर हुर्केकाहरु स्वास्थ्य क्षेत्र अस्वस्थ भएकै हेर्न चाहन्छन् । त्यो बिकृत मनोगन्थीले राम्रो कामको स्वागत गर्न सक्दैन ।” उहाँले गीतको थेगोजस्तै ‘परीक्षण कम भएकाले सङ्क्रमितको संख्या कम देखिएको’ भन्ने गरिएकोप्रति असहमति व्यक्त गर्दै आवश्यकताअनुसार परीक्षणको दायरा र क्षमता विस्तार गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एउटा स्वाब नमूना परीक्षणका लागि विदेश पठाउनुपर्ने अवस्थाबाट देशैभरी परीक्षण प्रयोगशाला स्थापना गरी दैनिक २२ हजार नमूना परीक्षण गर्ने अवस्था त्यसै भएको होइन ।” उहाँले संसारको स्वास्थ्य अवस्था रक्षामत्क रहेको अवस्थामा नेपालले गरेको प्रयत्न र परिणाम राम्रो रहेको स्पष्ट पार्नुभयो । उहाँले सत्ताका लागि अन्तिम युद्ध लड्ने बेला, समय र परिस्थिति अहिले नभएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “स्थिरताको नारा बोकेर जनतामा गएकाहरु नै अहिले अस्थिरता बोकेर हिँडेका छन् ।

यस्ता गतिविधिलाई जनताले नियाँलिरहेका छन् ।” उहाँले नेपाल भारतबीच जनस्तरमा रहेको सम्बन्धका कारण कोरोना सङ्क्रमण नियन्त्रणमा समेत त्यसको प्रभाव पर्ने बताउनुभयो । उहाँले ‘जहाँ दरबन्दी त्यही काम’ अनुसार नै स्वास्थ्य क्षेत्रको सुधार थालिने बताउनुभयो । उहाँले निष्ठा र इमानका साथ स्वास्थ्य क्षेत्रको बेतिथि सुधारबाट विचलित नहुने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महिला स्वास्थ्यका क्षेत्रमा प्रसूति अस्पतालसँग मिलेर महानगरकाले काम गर्न चाहेको बताउनुभयो ।

यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा.संगीता कौशल मिश्राले नेपालमा उच्च रहेको मातृ तथा शिशु मृत्यु दर घटाउन प्रसूति अस्पतालले महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो । निर्देशक डा. मिश्राले अस्पतालमा भइरहेका सेवा सुविधा, जनशक्ति र आयव्यय विवरण प्रस्तुत गर्दै विरामीको चाप बढ्दै गएकाले दुई सय शैया बृद्धि गरी उच्च जोखिमयुक्त गर्भवती महिलाका लागि छुट्टै युनिट स्थापना गरी सेवा प्रदान गर्ने योजना रहेको जानकारी दिनुयभो । यस्तै, अस्पतालका उपनिर्देशक प्रमुख कन्सल्टेण्ट डा.श्रीप्रसाद अधिकारीले अस्पतालको सेवालाई विस्तार, विकास र गुणस्तरीय बनाउन सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।

सोही अवसरमा मन्त्री ढकालले एमडी परीक्षामा सर्वोकृष्ट स्थान प्राप्त गर्ने डा.अनुपमा भट्टराईलाई एनडी मेडल प्रदान गर्नुभयो । यस्तै, अस्पतालमा लामो समय सेवा पुर्याउनुभएका कर्मचारी, स्वास्थ्यकर्मीलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले प्रसूति अस्पतालमा सुरु गरिएको पीसीआर परीक्षण प्रयोगशालाको शुभारम्भ गर्नुभयो । सो प्रयोगशालाका लागि आवश्यक उपकरण खरिदका लागि काठमाडौँ महानगरपालिकाले सहयोग गरेको थियो ।

प्रयोगशाला विभागका निर्देशक डा.करिष्मा मल्लले अस्पतालमा उपचारका लागि आउने विरामीको पीसीआर परीक्षण अस्पतालमै गरिने जानकारी दिनुभयो । सो प्रयोगशालामा ९६ वटा नमूना एकैपटक परीक्षण गर्न सकिन्छ । २०१६ सालमा ४० शैयाबाट प्रसूति सेवा दिन सुरु गरेको सो अस्पतालको ४१५ स्वीकृत शैया भए पनि ४८९ शैयाबाट सेवा प्रदान गरिरहेको छ । गत आर्थिक वर्षमा ११ लाख १९ हजार ६२५ जनाले अस्पतालबाट स्त्रीरोग सम्बन्धी विविध सेवा लिएका थिए । गत आर्थिक वर्षमा सो अस्पतालमा २२ हजार ४६१ जना प्रसूति भएका थिए । त्यसमध्ये आठ हजार ५३८ जनाको शल्यक्रियामार्फत् प्रसूति गराइएको थियो । अस्पतालले छुट्टै आइसोलेसनमा राखेर समेत उपचार सेवा प्रदान गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?