मधुसुधन तिमल्सिना
काभ्रे, साउन ३२ गते । धुलिखेल अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मी र एक सरसफाइ कर्मचारीमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । साउन २९ गते चार बिरामी र एक स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि १२० स्वास्थ्यकर्मी क्वारेनटाइनमा बसेका थिए ।
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले क्वारेन्टाइनमा बसेकामध्ये करिब ९० को परीक्षण भएकोमा तीन स्वास्थ्यकर्मी र एक सरसफाइ कर्मचारीमा कोरोना पोजिटिभ देखिएको जानकारी दिनुभयो । बाँकीको कम्तीमा छ दिन पुग्नुपर्ने भएकाले स्वाब सङ्कलन नगरेको उहाँले बताउनुभयो ।
सङ्क्रमितमध्ये एक जनामा मात्र लक्ष्यण देखिएको अन्यको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । सङ्क्रमितको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको जानकारी उहाँले दिनुभयो ।
अस्पतालले नियमित सेवा दिइरहेको बताइएकाे छ । कोभिडका बिरामीलाई छुट्टै राख्ने व्यवस्था मिलाएर सेवा दिन थालिएको उहाँको भनाइ छ ।
स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले आइतबार पाँच जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार धुलिखेल अस्पतालमा कार्यरत चार कर्मचारी र बनेपा नगरपालिका वडा न १३ साँगा बस्ने ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । जिल्लामा हालसम्म ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।