logo
२०८१ मंसिर ११ मंगलवार



काेभिड नियन्त्रण गर्न प्रदेशस्तरीय समन्वय समिति गठन गरिने 

स्वास्थ्य |
राष्ट्रिय |


काेभिड नियन्त्रण गर्न प्रदेशस्तरीय समन्वय समिति गठन गरिने 


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी रूपमा समन्वय गर्न हरेक प्रदेशमा उच्चस्तरी समन्वय समिति गठन गर्ने भएका छ । सो समितिको संयोजकका रुपमा निजामती सेवाका ११ औं तहको पदाधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य सेवा विभागबाट तोकिने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस संयोजक माधव तिवारीका अनुसार, सो समितिमा राष्ट्रिय स्वास्थ्य तालिम केन्दका शाखा प्रमुख र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सदस्यका रुपमा रहने व्यवस्था गरिएको छ । समितिले प्रदेशका विभिन्न स्थानका अस्पताल, स्थानीय तह, प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक प्रयोगशाला, प्रदेश आपूर्ति केन्द्र एवं सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी कोभिड–१९ का विरामीहरुको उपचार व्यवस्था गर्ने, कन्ट्राक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन समन्वय गर्ने कार्यादेश पाएको छ ।

यस्तै, छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा अनिवार्य रुपमा मापदण्डअनुसारका होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्ने, अनिवार्य रुपमा स्वास्थय परीक्षणको व्यवस्थाका लागि समन्वय गर्ने कार्य समितिले गर्ने छ । यस्तै, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा पोजेटिभ देखिई अस्पताल सञ्चालनमा समस्या परेमा हब तथा सेटलाईट हस्पिटलबाट स्वास्थ्यकर्मी तथा अन्य सहयोगी कर्मचारीहरु व्यवस्थान गर्न समन्वय गर्ने, कोभिड–१९ डेडिकेटेड अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य यथाशीघ्र गर्नका लागि पहल गर्ने, आइसीयू, भेन्टिलेटर र एम्बुलेन्स व्यवस्थापनमा समन्वय गर्ने कार्यादेश समितिलाई दिइएको छ ।

यस्तै, कोभिड–१९ बाहेकका अन्य नियमित सेवाहरु प्रवाह गर्न समेत समितिले समन्वय गर्ने कार्यादेश प्राप्त गरेको छ । स्वास्थ्य सेवा विभागबाट कोभिड–१९ रोकथाम एवं प्रतिकार्य सहजीकरणका लागि खटिएको टोलीले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी रूपमा समन्वय गर्नका लागि हरेक प्रदेशमा उच्चस्तरी समिति बनाउन सुझाव दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?