logo
२०८१ मंसिर १२ बुधवार



भैरहवामा सात वटा भेन्टिलेटरसहित ३५ शय्याको आइसीयू कक्ष

स्वास्थ्य |


भैरहवामा सात वटा भेन्टिलेटरसहित ३५ शय्याको आइसीयू कक्ष



लक्ष्मण पौडेल
भैरहवा, भदौ ६ गते । कोरोना सङ्क्रमितको उपचारका लागि भैरहवाका अस्पतालमा सात वटा भेन्टिलेटर र ३५ शय्याको आइसीयूसहितको आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । भीम अस्पतालमा तयारी अवस्थामा रहेको ३० शय्याको आइसोलेसनमा पाँच बेड आइसीयूका छन् भने एउटा भेन्टिलेटरसहितको छ ।

अस्पतालमा अहिले एक जना मात्रै कोरोना सङ्क्रमित बिरामी उपचाररत छन् । सङ्क्रमितको उपचारका लागि खटिने जनशक्तिको भने अभाव रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताउनुभयो । पहिले खटाएको जनशक्तिको म्याद यही भदौ २ गते सकिएकाले तत्कालका लागि जनशक्तिको भने अभाव खड्किएको उहाँले बताउनुभयो ।

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा भने ३० शय्याको आइसीयू छ । मेडिकल कलेजले भेन्टिलेटरसहितको छ शय्या कोभिड–१९ बिरामीको उपचारका लागि छुट्टयाएको छ । अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले अहिले अस्पतालमा तीनजना सङ्क्रमितको उपचार भइरहेको तर बाहिरबाट रिफर भएर कोही नआएको बताउनुभयो ।

“बाहिरबाट आउने सङ्क्रमितलाई भर्ना लिँदा यहाँ उपचाररत अन्य रोगका बिरामीलाई के गर्ने भन्ने प्रश्न आउँछ, यसबारे अहिलेसम्म कुनै तयारी छैन ।” उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?