गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ६ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा नौ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुर गरी छ जिल्लाका नौ जनाको मृत्युको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको मन्त्रलायले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी प्रदेश २ मा पाँच जनाको मृत्यु भएको जानकारी दिनुभयो । प्रदेश २ को पर्सा जिल्लाका तीन जना, बारा र सिरहाका एक-एक गरी जमा पाँच जनाको मृत्युको पुष्टि भएको छ । पर्साका ६१, ५८ र ४८ वर्षीय तीन जना पुरुषको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । बाराका ५८ वर्षीय पुरुष र सिरहाका ६८ वर्षीय पुरुष हुनुहुन्छ ।
प्रदेश १ को सुनसरीमा एक छ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । अर्का ६७ वर्षीय पुरुष हुनुहुन्छ । दुवै जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
त्यसैगरी बाग्मती प्रदेशमा दुई जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।